प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे बस्ने बैठकमा ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई आमन्त्रित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा विश्वविद्यालय र प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक चुनौतीहरू, तिनका समाधानका उपायहरू तथा तुरुन्त सम्बोधन गर्न सकिने विषयहरूमा केन्द्रित बहस हुने बताइएको छ।
बैठकमा त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन्। त्यसैगरी नेपाल संस्कृत, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि उपस्थित रहनेछन्। यसका साथै कृषि तथा वनविज्ञान, राजर्षि जनक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन्।
बैठकमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको पनि सहभागिता रहनेछ। कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग समेत प्रधानमन्त्री शाहले छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।