यस शृङ्खलालाई विशेष बनाउने मुख्य पक्ष भनेको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘अन्डरलाइट’ खेल आयोजना हुन लाग्नु हो।
यसअघि टियु क्रिकेट मैदानमा भएका अन्तर्राष्ट्रिय खेलहरु दिनको उज्यालोमै सीमित थिए । तर, अब फ्लडलाइटमा रातको समयमा खेल आयोजना हुनुले नेपाली क्रिकेट पूर्वाधारमा आएको प्रगतिलाई संकेत गर्दछ । त्यसैले यो सिरिजलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेलेको पहिलो ‘अन्डरलाइट टी-२० अन्तर्राष्ट्रिय सिरिज’ को रूपमा चिनिँदैछ।
नेपाली टोलीले लगभग दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । पछिल्लोपटक यी दुई टोली सन् २०२४ को अक्टोबरमा त्रिदेशीय शृङ्खलाको फाइनलमा आमनेसामने भएका थिए, जहाँ युएई विजयी भएको थियो।
दुवै टोली हालै सम्पन्न आईसीसी पुरुष टी-२० विश्वकप खेलेर आएका छन्। एसिया-ईएपी छनोट पार गर्दै विश्वकपमा स्थान बनाएका नेपाल र युएई दुवै समूह चरणबाट अघि बढ्न भने सकेनन्। दुवैले समान रूपमा एक-एक जित दर्ता गरेका थिए।
युएईले क्यानडाविरुद्ध जित निकाल्दा न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो। यता, नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटलीसँग लगातार पराजय भोगे पनि अन्तिम खेलमा स्कटल्यान्डलाई हराएर सान्त्वना जित निकालेको थियो।
नेपाली क्रिकेट टोलीले युएईसँग यसअघि खेलेको ११ टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले ६ जित हासिल गरेको छ भने युएईले ५ पटक बाजी मारेको छ।
पछिल्लो भेटमा भने नेपालले १ रनको झिनो अन्तरले जित निकाल्दै आफ्नो दबदबा कायम राखेको थियो । शृङ्खलाको दोस्रो तथा अन्तिम खेल मंगलबार यही मैदानमा हुनेछ । जसले विजेताको टुंगो लगाउनेछ।