काठमाडौं महानगरपालिका–२६ पवित्रनगरबाट ट्रामाडोल २ सय २० ट्याब्लेटसहित तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सबिन बस्नेत, आयुष लिम्बु र एक किशोर रहेका छन्। उनीहरूलाई प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
यसैगरी कीर्तिपुर नगरपालिका–१० बाट ट्रामाडोल १ सय ४० ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट तथा नगदसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरिएको छ।
उता बारा जिल्लाको जीतपुरसिमरा–१ पथलैया चोकबाट करिब २१ किलोग्राम गाँजासहित दुई जनालाई आइतबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पाल्पाको तानसेन–९ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगदसहित दुई जना पक्राउ परेका छन् भने तनहुँको आँबुखैरेनी–४ बाट विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
कञ्चनपुर, कैलाली, मोरङ, सुनसरी र सिराहा जिल्लाका विभिन्न स्थानबाट समेत ब्राउनसुगर, खैरो हेरोइन तथा गाँजासहित थप व्यक्तिहरू पक्राउ परेका छन्। केही स्थानबाट नगद र सवारीसाधन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।