पूँजी बजारलाई बलियो बनाउने एजेन्डासहित महासंघ निर्वाचनमा उम्मेदवारी

May 04, 2026 01:34 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनमा पूँजी बजार क्षेत्रका व्यक्तिकाे सहभागिता बढेकाे छ।

वैशाख २२ गते, मंगलबार हुँदै गरेको निर्वाचनमा उद्योगी र व्यवसायीहरूको छाता संस्थाभित्र पूँजी बजारलाई अर्थतन्त्रको बलियो खम्बाका रूपमा स्थापित गर्ने उद्देश्यसहित सम्बन्धित व्यक्तिहरू चुनावी मैदानमा उत्रिएका छन्। महासंघमा आवद्ध व्यक्ति वा संस्थाहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पूँजी बजारसँग जोडिएका हुन्छन् । यद्यपि बजारलाई नै प्रमुख व्यवसाय बनाउनेहरुको उपस्थिती कम भएको महसुस आम नागरिकले गरेका थिए । 

महासंघको नेतृत्वमा बजारको प्रत्यक्ष प्रतिनिधित्व न्यून हुने गरे पनि पछिल्ला वर्षहरूमा यो प्रवृत्ति बढ्दो अवस्थामा देखिन्छ। यसअघि स्पष्ट रूपमा पूँजी बजारको मुद्दा बोकेर महासंघ छिरेका सफल लगानीकर्ता अम्बिकाप्रसाद पौडेल यसपटक पनि एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यको उम्मेदवारका रूपमा उभिएका छन्

त्यसैगरी, यस पटकको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसन नेपालका तीन पूर्वअध्यक्षहरू र वर्तमान अध्यक्षसहित ब्रोकर नं. ३४ का सञ्चालक राजकुमार तिमिल्सिना चुनावी दौडमा छन्।

स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल वस्तुगततर्फबाट निर्वाचनमा होमिएका छन्। महासंघभित्र रहेर वस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस, पैरवी तथा नीतिगत लबिङ गर्ने ढकालले बताएका छन्। पूँजी बजारमा लाखौं लगानीकर्ताको आबद्धता छ। अबको अर्थतन्त्रको मेरुदण्डका रूपमा पूँजी बजारलाई सशक्त रूपमा अघि बढाउन आफूले पहल गर्ने बताएका छन्। नेपालको पूँजी बजारलाई समग्र अर्थतन्त्रको ऐनाका रूपमा अघि बढाउनु पर्ने उनको भनाइ छ। समग्र लगानीकर्ता र बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि आफूले महासंघको आसन्न निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको ढकालले बताएका छन्। ढकाल महासंघको पूँजी बजार फोरमको सदस्यका रूपमा सहभागी छन्।

त्यसैगरी, स्वर्ण लक्ष्मी सेक्युरिटिजका सञ्चालक धर्मराज सापकोटाले पनि दावी प्रस्तुत गरेका छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन्। सापकोटा हाल महासंघको पूँजी बजार फोरमको सहसभापतिको भूमिका निर्वाह गर्दै आएका छन्। महासंघमा वस्तुगततर्फबाट कार्यकारिणी सदस्य पदमा उनको उम्मेदवारी रहेको छ।  उद्योग, व्यापार र समग्र निजी क्षेत्रको विकास र विस्तारका लागि आफू कटिबद्ध भएर लाग्ने सापकोटाले बताए। समग्र निजी क्षेत्रको विकासमा अवरोध भएका समस्या पहिचान गर्ने र समाधान गर्ने उनको प्रतिबद्धता छ। ‘पूँजी बजारलाई अर्थतन्त्रको वास्तविक ऐनाका रूपमा स्थापित गर्न मेरो पहल रहनेछ,’ सापकोटाले भने।

त्यस्तै, कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाट भन्छन्, ‘उद्योगी–व्यापारीले व्यवसाय विस्तारका लागि बैंकको ऋणमा मात्र भर पर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। शेयर बजारलाई पूँजी जुटाउने सशक्त विकल्पका रूपमा बुझाउन र वास्तविक क्षेत्रका राम्रा कम्पनीहरूलाई बजारमा ल्याउन जोड रहनेछ।’ बजारलाई साना लगानीकर्ताहरूले थोरै पैसा लगानी गरेर प्रतिफल लिने माध्यमका रूपमा मात्र हेर्ने गरेको पाइन्छ। यस्तो संकुचित दृष्टिकोण बदल्दै उद्योगी–व्यापारीहरूले आफ्नो व्यवसाय विस्तारका लागि आवश्यक ठूलो पुँजी जुटाउन बजार बलियो विकल्प हो भन्नेमा जोड रहने रानाभाटले बताएका छन्। बजारमा वास्तविक क्षेत्रका राम्रा कम्पनीहरूलाई भित्र्याउन देखिएका अन्योल चिर्नु र पूँजी परिचालनका आधुनिक औजार ल्याउन जोड दिने उनले बताए।

साथै, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ५० का सञ्चालक प्रियराज रेग्मीले नवीन सोच (आइडिया) भएका तर पूँजीको अभावमा व्यवसाय गर्न नसकेका उद्यमीहरूलाई बजारबाट पूँजी निर्माण गर्न सहयोग गर्ने योजना अघि सारेका छन्। नीति निर्माता र उद्योगीबीच पुलको काम गर्दै नयाँ कम्पनीहरूलाई बजारमा आकर्षित गर्ने र लगानीको वातावरण सिर्जना गर्नेमा रेग्मीले जोड दिएका छन्।

यसैगरी, राजकुमार तिमिल्सिनाले पनि महासंघलाई नीति निर्माता र उद्योगीबीचको भरपर्दो माध्यम बनाएर पूँजी बजारलाई समग्र अर्थतन्त्रसँग जोड्ने लक्ष्य राखेका छन्। पूँजी बजारमा लामो अनुभव सँगालेका यी व्यक्तित्वहरूको प्रवेशले औद्योगिक क्षेत्र र वित्तीय बजारबीचको सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ। बजारका हस्तीहरूको सहभागिताले महासंघको आगामी कार्यसमितिमा आर्थिक नीति निर्माण र लगानीमैत्री वातावरण सिर्जना गर्न नयाँ ऊर्जा थपिने निजी क्षेत्रको अपेक्षा गरिएको छ।