शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजार घट्नुको मुख्य कारण ठूला अनियमिततामाथि सुरु भएको कानुनी प्रक्रिया र त्यसले लगानीकर्तामा पैदा गरेको मनोवैज्ञानिक त्रास रहेको दाबी गरे।
१ खर्बको बिगो मुद्दा: पूँजी बजार र बिमा क्षेत्र केन्द्रमा
अर्थमन्त्री वाग्लेका अनुसार सरकारले पूँजी बजार र बिमा क्षेत्रमा देखिएका ठूला विचलनहरूलाई गम्भीरताका साथ निगरानी गरिरहेको छ। हालै मात्र १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको र ती मुद्दाहरूको केन्द्रमा पुँजी बजार तथा बिमा क्षेत्र नै रहेको उनले खुलासा गरे।
"अहिले करिब १ खर्ब हाराहारीको बिगोमा मुद्दा चलेको छ, जसमा क्यापिटल मार्केट र बिमा क्षेत्रको संलग्नता देखिएको छ। अनुसन्धान र कारबाहीको यो प्रक्रिया तीव्र पारिँदा कतै ‘म पनि कारबाहीमा पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको देखिन्छ। यही मनोवैज्ञानिक प्रभावका कारण बजारमा उतारचढाव आएको हो।" - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
'एक घन्टाको घटबढ होइन, दीर्घकालीन स्थायित्व हाम्रो प्राथमिकता'
ठूला अनियमिततामा संलग्नहरूमाथि कानुनी डण्डा चलाउन सुरु गर्दा बजारमा केही समयका लागि अन्यौल देखिनु स्वाभाविक भएको उनले सङ्केत गरे। छानबिनको प्रक्रियाले निर्दोष लगानीकर्ताहरू आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा अर्थमन्त्रीले थपे, "हामी एक घन्टामा स्टक मार्केट कति अंकले घट्यो वा बढ्यो भनेर हेर्दैनौँ। सरकारको मुख्य ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ। हाम्रो प्राथमिकता बजारलाई पारदर्शी, मर्यादित र विश्वसनीय बनाउनु हो।"
पुँजी बजारको शुद्धीकरणका लागि चालिएका कदमहरूले तत्कालका लागि बजारमा केही असर देखिए पनि यसले भविष्यमा लगानीकर्ताको हित र बजारको जग बलियो बनाउने विश्वास उनले व्यक्त गरे।