सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने स्वयं बोल्ने वा दलका उपनेताले सम्बोधन गर्ने भन्ने विषय अझै तय भइसकेको छैन। यसबारे निर्णय गर्न संसदीय दलको बैठक बस्ने र त्यसपछि टुंगो लाग्ने बताइएको छ।
बैठकमा नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमालेका नेता रामबहादुर थापा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
निर्वाचनपछि पहिलो पटक संसदमा बोल्न लागेका प्रचण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा विशेष समय माग गरेका छन्।
यसअघि बसेको विपक्षी दलहरूको बैठकले सरकारले संसद् छल्दै अध्यादेश ल्याएको तथा उचित व्यवस्थापन नगरी काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाएको विषयमा संसदमार्फत सरकारलाई दबाब दिने निर्णय गरेको थियो।
त्यसैगरी, श्रम संस्कृति पार्टीका नेता हर्कबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले पनि बैठकलाई सम्बोधन गर्नेछन्।
सोमबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।