यसको भिडियो भाइरल हुनासाथ नाममा झुक्किएर लगानीकर्ताहरूले शेयर बजारमा 'पारले इन्डस्ट्रिज'को शेयर धमाधम किन्न थाले, जसका कारण मंगलबार यस कम्पनीको शेयरमा ५ प्रतिशतको अपर सर्किट लाग्यो।
कम्पनीको नाममा झुक्किए लगानीकर्ता
रोचक कुरा के छ भने, मेलोडी टफी बनाउने कम्पनी 'पारले प्रोडक्ट्स' (Parle Products) हो, जुन शेयर बजारमा सूचीकृत (Listed) नै छैन। तर, लगानीकर्ताहरूले झुक्किएर रियल एस्टेट क्षेत्रको कम्पनी 'पारले इन्डस्ट्रिज' (Parle Industries) लाई मेलोडी बनाउने कम्पनी ठानेर लगानी गरिदिए। प्रधानमन्त्री मोदीले उपहार दिएको मेलोडी टफी भारतमा सन् १९८३ देखि बिक्री हुँदै आएको छ।
५.२५ भारु पुग्यो सेयर मूल्य
मंगलबार 'इन्ट्रा-डे' ट्रेडिङका क्रममा बम्बई स्टक एक्सचेन्ज (BSE) मा पारले इन्डस्ट्रिजको शेयर ५ प्रतिशतले बढेर ५.२५ भारु पुग्यो र माथिल्लो तहमा लक भयो। सामाजिक सञ्जालमा मोदी र मेलोनीको 'मेलोडी' मोमेन्ट भाइरल भएपछि लगानीकर्ताहरूले कम्पनीको वास्तविकता नबुझी यो 'पेनी स्टक'मा लगानी गरेका हुन्।
मेलोडी टफी बनाउने 'पारले प्रोडक्ट्स' पारले-जी बिस्कुट र अन्य कन्फेक्सनरी सामानका लागि प्रसिद्ध छ। अर्कोतर्फ, शेयर बढेको 'पारले इन्डस्ट्रिज' भने पूर्वाधार, रियल एस्टेट र कागज रिसाइक्लिङको व्यवसायमा संलग्न छ।
पारले प्रोडक्ट्सले भन्यो– 'हाम्रा लागि गर्वको कुरा'
शेयर बजारमा आएको यो उछालबारे पारले इन्डस्ट्रिजले कुनै आधिकारिक टिप्पणी गरेको छैन। तर, मेलोडी बनाउने पारले प्रोडक्ट्सले 'एक्स' (ट्विटर) मा लेखेको छ, ‘पारले मेलोडीलाई विश्वसामु पुर्याउनु भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद। भारतको यो मनपर्ने टफी विदेशमा पनि बाँडिएको देख्नु हाम्रा लागि गर्वको विषय हो।’
इन्टरनेटमा 'मेलोडी' को चर्चा
प्रधानमन्त्री मोदीको रोम भ्रमणका क्रममा उनले जोर्जिया मेलोनीसँग भेट र डिनर गरेका थिए। त्यसपछि दुवै नेताले ऐतिहासिक स्मारक 'कोलोसियम' को भ्रमण गरे। मेलोनीले सामाजिक सञ्जालमा मोदीलाई धन्यवाद दिँदै मेलोडी टफीको तस्बिर शेयर गरेकी थिइन्।
विगत एक वर्षदेखि सामाजिक सञ्जालमा यी दुई नेताको मित्रतालाई लिएर 'मेलोडी' (Meloni + Modi) ह्यासट्याग निकै चर्चित छ। यही कारणले गर्दा मोदीले साँच्चै नै 'मेलोडी' टफी उपहार दिँदा यो विषय तुरुन्तै भाइरल भयो।
भारत र इटालीबीच बढ्दो व्यापार
यो ठट्टा र रमाइलो माहोलका बीच दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्ध पनि मजबुत बन्दै गएको छ। तथ्यांक अनुसार सन् २०२५ मा भारत र इटालीबीचको द्विपक्षीय व्यापार करिब १६.७७ अर्ब डलर (करिब १४ खर्ब भारु) पुगेको छ। सन् २००० देखि २०२५ को बीचमा भारतमा ३.६६ अर्ब डलरको इटालेली वैदेशिक प्रत्यक्ष लगानी (FDI) आएको छ।
के हो अपर सर्किट ?
जब कुनै शेयरमा खरिदकर्ता (Buyers) धेरै हुन्छन् तर बिक्री गर्ने (Sellers) कोही हुँदैन, तब त्यसको मूल्य तीव्र गतिमा बढ्छ। सेयर बजारमा कुनै पनि शेयरको मूल्य एकै दिनमा असीमित रूपमा नबढोस् भनेर एउटा माथिल्लो सीमा (Limit) तोकिएको हुन्छ। जब मूल्य बढेर त्यो सीमामा पुग्छ, त्यसलाई 'अपर सर्किट' भनिन्छ। साना र कम मूल्य भएका शेयरहरूमा प्रायः दैनिक ५ प्रतिशतको सीमा तोकिएको हुन्छ।