उद्योग विभागको १० महिने रिपोर्ट: ४५ अर्बको वैदेशिक लगानी भित्रिँदा २३ हजारभन्दा बढीले रोजगारी पाउने

May 21, 2026 02:25 PM Merolagani



उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (FDI) को प्रतिबद्धतामा उल्लेख्य वृद्धि देखिएको छ। 

विभागको प्रतिवेदनअनुसार साउनदेखि वैशाखसम्मको १० महिनामा कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७२८ वटा विभिन्न परियोजनामार्फत उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो। यसमध्ये ५३३ वटा स्वचालित मार्ग (Automatic Route) बाट र १९५ वटा स्वीकृत मार्ग (Approval Route) बाट आएका छन्। वैशाख महिनामा मात्रै ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा कुल ११३ वटा नयाँ वैदेशिक लगानीका उद्योगहरू दर्ता भएका छन्।

तथ्याङ्कलाई क्षेत्रगत रूपमा विश्लेषण गर्दा नेपालको कृषि र वनजन्य क्षेत्र वैदेशिक लगानीकर्ताको मुख्य रोजाइमा परेको देखिन्छ। कुल प्रतिबद्धतामध्ये ४९ प्रतिशत अर्थात् २२ अर्ब ८ करोड रुपैयाँ कृषि तथा वनजन्य क्षेत्रमा मात्रै आएको छ। यद्यपि, संख्यात्मक रूपमा भने यो क्षेत्रमा १६ वटा मात्र परियोजना रहेका छन्।

लगानीको दोस्रो ठूलो क्षेत्र पर्यटन बनेको छ। पर्यटन क्षेत्रमा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ (२८ प्रतिशत) लगानीको प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा १८९ वटा परियोजना दर्ता भएका छन्। यसैगरी, सेवा क्षेत्रमा ४ अर्ब २३ करोड (९ प्रतिशत), उत्पादनमूलक क्षेत्रमा २ अर्ब ७० करोड (६ प्रतिशत), पूर्वाधारमा १ अर्ब ६५ करोड (४ प्रतिशत) र सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा १ अर्ब ७४ करोड (४ प्रतिशत) लगानी प्रतिबद्धता आएको छ।

लगानीको रकममा कृषि अगाडि देखिए पनि उद्योगको संख्याका आधारमा भने सूचना प्रविधि (ICT) क्षेत्रले बाजी मारेको छ। कुल ७२८ परियोजनामध्ये ५८ प्रतिशत अर्थात् ४२१ वटा परियोजना सूचना प्रविधि क्षेत्रका छन्। यसले नेपालमा साना लगानीका सफ्टवेयर डेभलपमेन्ट र आईटी सेवा प्रदायक कम्पनीहरूमा विदेशीको रुचि बढ्दै गएको पुष्टि गर्छ। त्यसपछि पर्यटन क्षेत्रमा २६ प्रतिशत (१८९ वटा) उद्योगहरू दर्ता भएका छन्।

नेपाल आउने वैदेशिक लगानी अझै पनि साना उद्योगमै केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ। १० महिनामा दर्ता भएका ७२८ उद्योगमध्ये ७११ वटा (करिब ९८ प्रतिशत) साना श्रेणीका छन्। मध्यम श्रेणीका ८ वटा र ठूला श्रेणीका ९ वटा मात्र उद्योग दर्ता भएका छन्। वैशाख महिनामा मात्रै दर्ता भएका ११३ उद्योगमध्ये ११२ वटा साना र १ वटा मात्र ठूलो उद्योग रहेको छ। यसले ठूला पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा विदेशी लगानी भित्र्याउन अझै चुनौती रहेको संकेत गर्छ।

वैदेशिक लगानीका यी परियोजनाहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा २३ हजार ५३० जनाले रोजगारी पाउने अनुमान गरिएको छ। वैशाख महिनामा मात्रै दर्ता भएका उद्योगबाट ९४८ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको छ। लगानीसँगै विदेशी लगानीकर्ता र उनीहरूका प्रतिनिधिहरूका लागि विभागले भिसा सिफारिस पनि गर्दै आएको छ। वैशाख महिनामा ८४ जना लगानीकर्ता, ४० जना प्रतिनिधि र ४२ जना आश्रित परिवारका सदस्यलाई व्यावसायिक भिसाका लागि सिफारिस गरिएको छ।

लगानी भित्रिने क्रमसँगै नेपालबाट लाभांश र रोयल्टीका रूपमा रकम बाहिरिने क्रम पनि जारी छ। १० महिनाको अवधिमा विदेशी लगानीकर्ताहरूले १७ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ लाभांश (Dividend) का रूपमा आफ्नो देश फिर्ता लगेका छन्। त्यस्तै, रोयल्टी बापत ५ अर्ब ९ करोड ७३ लाख रुपैयाँ फिर्ता लगिएको छ। सेवा शुल्क (Service Fee) बापत ११ करोड ५० लाख रुपैयाँ बाहिरिएको विभागको प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्षको वैदेशिक लगानीको प्रवृत्तिमा केही उतारचढाव देखिएको छ। साउन महिनामा उच्च रहेको लगानी प्रतिबद्धता बीचका महिनाहरूमा केही घटे पनि फागुनपछि पुनः सुधारोन्मुख देखिएको छ। विशेषगरी कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा देखिएको वैदेशिक आकर्षणले नेपाली अर्थतन्त्रको विविधीकरणमा मद्दत पुग्ने देखिन्छ। तर, साना उद्योगमा मात्र सीमित नभई ठूला र उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न थप नीतिगत सुधारको आवश्यकता रहेको विज्ञहरू बताउँछन्।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।