सडक मर्मतसम्भार गर्न साढे १५ अर्ब माग, बजेट बढेर आउँला त ?

May 21, 2026 04:56 PM Merolagani



सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।

विभागले हालै आयोजना गरेको एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा विभागका प्रवक्ता श्यामबहादुर खड्काले विभाग अन्तर्गतका राष्ट्रिय राजमार्ग र सहायक सडक सञ्जाल गरी कुल १८ हजार किलोमिटर सडकको मर्मत गर्न ठूलो रकम आवश्यक रहेको बताए ।

यो बजेट सडकहरूलाई सुरक्षित र सुचारु अवस्थामा राख्नका लागि नियमित, पुनरावर्ती र आवधिक मर्मतका साथै सडक सुरक्षा र बायो-इन्जिनियरिङ जस्ता कार्यमा खर्च गरिने उनले बताए ।

सडक विभागले सडकको भौतिक अवस्था, ट्राफिक चाप र सतहको गुणस्तरका आधारमा वैज्ञानिक पद्धतिबाट यो योजना तयार पारेको जनाएको छ । विभागका चारवटा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरूमार्फत सडक खण्डहरूको तथ्याङ्क सङ्कलन गरी वेब–बेस्ड सफ्टवेयर प्रणालीमार्फत मर्मतको आवश्यकता र बजेटको पहिचान गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

सहज र सुरक्षित यातायात सुविधा दिने लक्ष्य

यस योजनाले निर्माण सम्पन्न भई मर्मतको चरणमा प्रवेश गरेका आयोजनाहरूको पहिचान र प्रमाणीकरण गर्ने कार्यलाई समेत सहज बनाएको छ । मर्मत कार्यलाई थप प्रभावकारी बनाएर नागरिकलाई सहज र सुरक्षित यातायात सुविधा प्रदान गर्ने लक्ष्य विभागले राखेको छ । आगामी आर्थिक वर्षमा सडकको मर्मतसम्भारलाई प्राथमिकतामा राख्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यो एकीकृत योजना कोशेढुङ्गा सावित हुने विभागको विश्वास छ ।

विगतमा सडक मर्मततर्फ बजेट अपुग

विगतका सरकारले वार्षिक रुपमा सडक सञ्जाल मर्मत सम्भार गर्न ४ देखि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने गरेका थिए । सडक विभागले बढी रकम माग गरे पनि कुनै पनि सरकारका पालामा त्योभन्दा बढी सडक मर्मत तर्फ बजेट आएन ।

यसपाली भने झन्डै दुई तिहाइको सरकारले देशभरका सडक सञ्जाल मर्मत गर्न विगतको तुलनामा बजेट बढाउने दिशातर्फ अघि बढेको देखिन्छ ।

 

 




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।