नेपालको संविधान २०७२ मै जेठ १४ गते नयाँ बजेट सार्वजनिक गर्नु पर्ने उल्लेख रहेकोले उक्त दिन बजेट भाषण गर्ने गरिन्छ । नयाँ संविधान जारी गरिनु अघि असार महिनामा बजेट भाषण गरिन्थ्यो ।बजेट भाषण गर्न नेपालमा त्यस्तो कुनै अनौठो लाग्ने परम्परा छैन । जबकी विश्वका कतिपय देशमा भने बजेट भाषणको क्रममा केही अनौठा परम्परा र मान्यताहरु छन् । यहाँ त्यस्ता केही मान्यताहरुको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
बेलायतः अर्थमन्त्रीलाई मदिरा सेवनको छुट
बेलायतमा बजेट भाषण गर्ने शैली विश्वकै सबैभन्दा पुरानो र परम्परागत मानिन्छ। त्यहाँ अर्थमन्त्रीलाई चान्सलर अफ दि एक्स्चेकर (Chancellor of the Exchequer) भनिन्छ । बजेट भाषणको दिन अर्थमन्त्रीले आफ्नो हातमा एउटा विशेष रातो सुटकेस बोकेर १० डाउनिङ स्ट्रिट (प्रधानमन्त्री निवास) बाट बाहिर निस्कन्छन् र पत्रकारहरूलाई पोज दिन्छन्। यो सुटकेसभित्र बजेटको भाषण र गोप्य दस्तावेज हुन्छन् । यो परम्परा सन् १८६० देखि चल्दै आएको हो ।

त्यस्तै बजेट भाषणको क्रममा बेलायतमा अर्काे अनौठो परम्परा पनि छ । कानुनअनुसार बेलायती संसद् (House of Commons) मा संसद वैठक चलिरहेको बेला बैठकस्थलमा रहेका मन्त्री वा सांसदहरूले कुनै पनि कुरा पिउन पाउँदैनन्, पानी बाहेक। तर, वर्षमा एक पटक बजेट भाषण गरिरहेका अर्थमन्त्रीलाई मात्र संसद्भित्र मदिरा वा आफ्नो रोजाइको पेय पदार्थ पिउने विशेष छुट हुन्छ । तर, कस्तो पेय पिउने भन्ने कुरा अर्थमन्त्रीमा भर पर्छ । अर्थात मदिरा पिउनु अनिवार्य नियम होइन, पिउन मन लागेमा दिइएको छुट हो ।
क्यानडा: नयाँ जुत्ताको अनौठो परम्परा
क्यानडामा बजेट भाषणको दिन अर्थमन्त्रीले गर्ने एउटा काम विश्वभर निकै चर्चित छ । त्यहो हो, नयाँ जुत्ता लगाउनै पर्ने ।
क्यानडामा बजेट प्रस्तुत गर्नुभन्दा ठीक अघि वा सोही दिन अर्थमन्त्रीले बजारमा गएर नयाँ जुत्ता किन्ने र त्यो लगाएर संसद् जाने अनौठो परम्परा छ। यो परम्परा सन् १९५० को दशकदेखि सुरु भएको हो । नयाँ जुत्ता किन्नुको सांकेतिक अर्थ ‘हामी देशलाई नयाँ दिशामा अघि बढाउँदै छौँ’ भन्ने हो । जुत्ता कस्तो खालको किनियो सस्तो, टिकाउ वा महँगो भन्ने कुराले सरकारको आगामी आर्थिक नीति कन्जुस्याइँ गर्ने कि उदार हुने भन्ने सङ्केत गर्छ भनी त्यहाँ रमाइलो विश्लेषण गरिन्छ।
न्युजिल्याण्ड: ह्याप्पीनेस बजेट (वेलबिइङ बजेट)
न्युजिल्याण्डले विश्वमै पहिलो पटक बजेट भाषणको परम्परागत शैली र दर्शनलाई नै बदलिदिएको छ। खुसी र स्वास्थ्य नाप्ने बजेटस् सन् २०१९ देखि न्युजिल्याण्डले Wellbeing Budget ल्याउन सुरु गर्यो । त्यहाँ बजेट भाषणमा देशको जीडीपी वा आर्थिक वृद्धिदर कति बढ्यो भन्ने मात्र हेरिँदैन। बरु, बजेट भाषणको मुख्य केन्द्रविन्दु नागरिकहरू कति खुसी छन् ? उनीहरूको मानसिक स्वास्थ्य कस्तो छ ? र वातावरण कति जोगियो ? भन्ने तथ्याङ्कमा आधारित हुन्छ। बजेटको ठूलो हिस्सा मानसिक स्वास्थ्य, बाल गरिबी निवारण र आदिवासीहरूको उत्थानमा केन्द्रित गरेर भाषण गरिन्छ।
अस्ट्रेलिया: पत्रकारलाईमा ‘लक-अफ’ मा राखिने
अस्ट्रेलियामा बजेट भाषणको दिन पारदर्शिता र मिडिया व्यवस्थापनको छुट्टै मोडल छ। अस्ट्रेलियामा बजेट भाषण हुनुभन्दा केही घण्टा अगाडि देशका प्रमुख पत्रकार, अर्थशास्त्री र विश्लेषकहरूलाई संसद् भवन भित्र एउटा सुरक्षित कोठामा थुनिन्छ, जसलाई ‘बजेट लक-अप’ भनिन्छ। उनीहरूलाई बजेटको कपी पहिले नै अध्ययन गर्न दिइन्छ तर उनीहरूका सबै सञ्चार उपकरणहरू जफत गरिन्छ । अर्थमन्त्रीले संसद्मा भाषण सुरु गर्ने वित्तिकै मात्र त्यो कोठाको ढोका खोलिन्छ र पत्रकारहरूले तुरुन्तै विस्तृत विश्लेषणसहितको समाचार ब्रेक गर्छन् ।
भारत: हलुवा खाने समारोहको आयोजना
भारतको बजेट भाषण र परम्परा नेपालसँग निकै मिल्दोजुल्दो छ, तर त्यहाँ केही विशेष प्रक्रियाहरू छन् । भारतमा बजेट भाषण हुनुभन्दा करिब १० दिनअघि अर्थ मन्त्रालयमा ठूलो कराहीमा हलुवा पकाइन्छ। अर्थमन्त्री आफैंले कर्मचारीहरूलाई हलुवा बाँडेर बजेट छपाइको सुरुवात गर्छन् । यो Halwa Ceremony समारोहपछि बजेट निर्माणमा संलग्न रहने कर्मचारीहरूलाई मन्त्रालयको भूमिगत कोठामा बन्दी जस्तै गरि राखिन्छ। बजेट भाषण नसकिएसम्म उनीहरूलाई मोबाइल फोन चलाउन, परिवारलाई भेट्न वा बाहिर निस्कन पूर्ण प्रतिबन्ध हुन्छ ताकि बजेट लिक नहोस्।
भारतमा पनि पहिले बेलायती शैलीको छालाको सुटकेस बोक्ने चलन थियो । तर हालका वर्षहरूमा (अर्थमन्त्री निर्मला सीतारमणको पालादेखि) सुटकेसको सट्टा परम्परागत भारतीय बहीखाता (रातो कपडामा बेरिएको डिजिटल ट्याब्लेट) बोक्ने र पेपरलेस (कागजविहीन) बजेट भाषण गर्ने आधुनिक ट्रेन्ड सुरु भएको छ।