निर्जीवन बिमा कम्पनीको व्यवसाय ४१ अर्ब नाघ्योः बाग्मती प्रदेशको हिस्सा ६८ प्रतिशत, शिखर इन्स्योरेन्सको अग्रता

May 25, 2026 01:07 PM Merolagani



नेपालको निर्जीवन बिमा बजारले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा उत्साहजनक प्रगति गरेको छ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार, सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनी र ४ लघु निर्जीवन बिमा कम्पनीहरूले वैशाख मसान्तसम्म कुल ४१ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ (४१,३९५.६२ लाख) कुल बिमा शुल्क संकलन गरेका छन्।

प्राधिकरणका अनुसार वैशाख महिनामा मात्रै निर्जीवन बिमा कम्पनीहरूले ४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन्। यस अवधिमा कुल २८ लाख ३० हजार ६५२ वटा बिमा लेख जारी भएका छन्। जसमा वैशाख महिनामा मात्र २ लाख ८६ हजार १६२ वटा नयाँ बिमा लेख जारी भएका हुन् ।

निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये 'शिखर इन्स्योरेन्स'ले आफ्नो अग्रतालाई कायम राखेको छ। वैशाख मसान्तसम्ममा शिखरले ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गर्दै पहिलो स्थान ओगटेको छ। शिखरले यस अवधिमा २ लाख ६८ हजारभन्दा बढी बिमा लेख जारी गरेको छ। दोस्रो स्थानमा 'हिमालयन एभरेस्ट इन्स्योरेन्स' रहेको छ, जसले ४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। त्यस्तै, 'सगरमाथा लुम्बिनी इन्स्योरेन्स' (सलिको) ४ अर्ब २५ करोड ८६ लाख रुपैयाँसहित तेस्रो स्थानमा छ। अन्य प्रमुख कम्पनीहरूमध्ये आईजीआई प्रुडेन्सियलले ३ अर्ब ५१ करोड र सिद्धार्थ प्रिमियरले ३ अर्ब ४९ करोड रुपैयाँको व्यवसाय गरेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले १ अर्ब १८ करोड ८५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ।

नेपालको बिमा व्यवसाय अझै पनि भौगोलिक रूपमा असन्तुलित छ। सात प्रदेशमध्ये बाग्मती प्रदेशले कुल बिमा व्यवसायको ठुलो हिस्सा ओगटेको छ। तथ्याङ्क अनुसार बाग्मती प्रदेशबाट मात्रै २८ अर्ब ३७ करोड ६७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ। जुन कुल व्यवसायको करिब ६८.५ प्रतिशत हो। काठमाडौँ उपत्यकासहितका प्रमुख आर्थिक केन्द्रहरू बाग्मती प्रदेशमा रहेकाले यहाँको व्यवसाय उच्च देखिएको हो। बाग्मतीपछि कोशी प्रदेशले ३ अर्ब ५३ करोड ५९ लाख र लुम्बिनी प्रदेशले ३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। सबैभन्दा न्यून व्यवसाय कर्णाली प्रदेशमा देखिएको छ, जहाँ ४ करोड ३ लाख रुपैयाँ मात्र बिमा शुल्क संकलन भएको छ। मधेस प्रदेशमा २ अर्ब ६१ करोड र गण्डकी प्रदेशमा २ अर्ब १ करोड रुपैयाँको व्यवसाय भएको छ। सुदूरपश्चिम प्रदेशबाट ९८ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको प्राधिकरणले जनाएको छ।

क्षेत्रगत आधारमा हेर्दा 'मोटर बिमा' सबैभन्दा बढी लोकप्रिय र व्यावसायिक देखिएको छ। वैशाख मसान्तसम्म मोटर बिमाबाट मात्रै १२ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ। त्यसैगरी, 'सम्पत्ति बिमा' दोस्रो स्थानमा छ, जसबाट ९ अर्ब ७३ करोड ७ लाख रुपैयाँ संकलन भएको छ। विकास निर्माण र ठेक्कापट्टाको कामसँग सम्बन्धित 'इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा'बाट ७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ संकलन भएको छ। सामुद्रिक बिमाबाट २ अर्ब ५२ करोड, हवाई बिमाबाट १ अर्ब ८९ करोड र कृषि तथा बाली बिमाबाट १ अर्ब ३६ करोड रुपैयाँ संकलन भएको छ। विविध बिमा शीर्षक अन्तर्गत ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँ संकलन भएको देखिन्छ।

सर्वसाधारण र न्यून आय भएका वर्गसम्म बिमाको पहुँच पुर्‍याउने उद्देश्यले स्थापित चार वटा लघु बिमा कम्पनीहरूले पनि बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्। वैशाख मसान्तसम्म नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्सले कुल १ अर्ब १० करोड १ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। लघु बिमनहरूमध्ये प्रोटेक्टिभ माइक्रोले ३१ करोड ११ लाख र नेपाल माइक्रोले २७ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेका छन्। लघु बिमा अन्तर्गत मात्रै ४ लाख १८ हजार ९९० वटा बिमा लेख जारी भएका छन् ।

नेपाल बिमा प्राधिकरणको यो तथ्याङ्कले निर्जीवन बिमा क्षेत्रमा क्रमिक सुधार भइरहेको संकेत गर्दछ। यद्यपि, बिमा व्यवसाय बाग्मती प्रदेश र मोटर बिमामा मात्र बढी केन्द्रित हुनुले कृषि र दुर्गम क्षेत्रमा अझै बिमाको पहुँच पुग्न नसकेको यथार्थलाई पुष्टि गर्दछ। कम्पनीहरूबिचको तीव्र प्रतिस्पर्धा र लघु बिमाको विस्तारले आगामी दिनमा बिमा बजार अझै फराकिलो हुने अपेक्षा गरिएको छ।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।