प्राधिकरणद्वारा सार्वजनिक गरिएको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३” अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई मनसुन सुरु भएसँगै उच्च जोखिम क्षेत्रमा परिचालन गरिनेछ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी फिल्डमा खटाउने तयारी गरिएको हो।
वैशाख ३१ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेतृत्वको कार्यकारी समितिको ३४औँ बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको थियो।
प्राधिकरणले विगतका विपद्का घटना, क्षति तथा मौसमीय जोखिमको विश्लेषणका आधारमा यस वर्ष मनसुनजन्य विपदबाट करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। सम्भावित जोखिम क्षेत्रहरूमा १४ हजार स्वयंसेवक समेत परिचालन गरिने जनाइएको छ।
यसैबीच, विपद् व्यवस्थापन कोषमा हाल ७ अर्ब ५६ करोड रुपैयाँ मौज्दात रहेको प्राधिकरणले जनाएको छ। उक्त रकम जिल्ला, प्रदेश र केन्द्रस्तरबाट समन्वय गरी उद्धार, राहत तथा प्रतिकार्यमा खर्च गरिनेछ।