समग्र कर्जा सुस्त हुँदा पनि शेयर बजारमा बैंकहरूको १६२ अर्ब भन्दा बढी लगानी, १० महिनामै थपियो २१ अर्ब ८३ करोड

Jun 10, 2026 05:33 AM Merolagani



देशको समग्र कर्जा विस्तार सुस्त देखिए पनि शेयर बजारमा लगानी गर्ने उद्देश्यले लिइने मार्जिन प्रकृतिको शेयर धितो कर्जामा भने उल्लेख्य सुधार देखिएको छ। 

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त) सम्मको वास्तविक वित्तीय प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल शेयर धितो कर्जा प्रवाह १ खर्ब ६२ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यो चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा २१ अर्ब ८३ करोड रुपैयाँको वृद्धि हो। घट्दो ब्याजदर र बैंकहरूमा रहेको पर्याप्त तरलताका कारण शेयर बजारका लगानीकर्ताहरूमा आत्मविश्वास बढ्दा शेयर कर्जाको माग क्रमिक रूपमा बढेको हो। केन्द्रीय बैंकको वास्तविक तथ्यांक अनुसार समीक्षा अवधिमा साना लगानीकर्ताको तुलनामा ठूलो अंकको ऋण लिनेहरूमा आकर्षण निकै बढी देखिएको छ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ करोड रुपैयाँभन्दा बढीको ठूलो शेयर कर्जा प्रवाह सबैभन्दा धेरै अर्थात् १७.२ प्रतिशतले बढेको छ। बैशाखसम्म १ करोड माथिको मार्जिन कर्जा १० महिनामा १७ अर्ब भन्दा बढीले बढेर १ खर्ब १५ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकले नीतिगत रूपमा ठूला लगानीकर्ता र संस्थागत वर्गका लागि कर्जाको वातावरण केही सहज गरिदिएका कारण यो वर्गको कर्जामा उच्च वृद्धि देखिएको हो। त्यस्तै, ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको सीमामा प्रवाह भएको शेयर धितो कर्जा पनि समीक्षा अवधिमा १४.७ प्रतिशतले वृद्धि भएको छ। यो वर्गमा पनि मध्यम तथा व्यावसायिक लगानीकर्ताहरूको सक्रियता बढेको राष्ट्र बैंकको तथ्यांकले स्पष्ट पारेको छ।

मध्यम र साना वर्गका लगानीकर्ताहरूले उपयोग गर्ने कर्जाको वृद्धिदर भने ठूला ऋणीको तुलनामा केही सन्तुलित र सुस्त देखिएको छ। राष्ट्र बैंकको वर्गीकरण अनुसार २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर कर्जा समीक्षा अवधिमा ११ प्रतिशतले बढेको छ। साना लगानीकर्ताहरूले धितो राखेर लिने २५ लाख रुपैयाँभन्दा कमको मार्जिन कर्जाको वृद्धिदर भने सबैभन्दा कम रहँदै ६.३ प्रतिशतमा सीमित भएको छ। समग्र व्यावसायिक तथा औद्योगिक क्षेत्रमा कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूले एकल विन्दुको सस्तो ब्याजदरमा सेयर ऋणीतर्फ कर्जा बढाएका कारण १० महिनामा कुल मार्जिन कर्जा १ खर्ब ६२ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको बैंकिङ विश्लेषकहरू बताउँछन्।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।