अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लगानीकर्ताकाे खुला पत्र

Jun 12, 2026 05:46 PM Merolagani



माननीय अर्थमन्त्रीज्यू,
तपाई अर्थमन्त्री भएर देशको आर्थिक बगडोर समाल्दै गर्दा देशभरका आम लगानीकर्ता, व्यवसायी र युवाहरूमा ठूलो आशा जागेको थियो। अर्थशास्त्रको गहिरो ज्ञान भएको व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा पुगेपछि आर्थिक सुधार, लगानीमैत्री वातावरण र निजी क्षेत्रलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको थियो। तर आज त्यो आशा विस्तारै निराशामा बदलिँदै गएको महसुस गर्न थालिएको छ।&

कोरोना महामारीले नेपाली अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभावित गर्यो। हजारौ व्यवसाय बन्द भए। रोजगारी गुम्यो र लगानीकर्ताको मनोबल कमजोर बन्यो। त्यसपछि पनि विभिन्न आर्थिक चुनौतीका बीच निजी क्षेत्रले विस्तारै आफूलाई पुनः स्थापित गर्ने प्रयास गरिरहेको थियो। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै थियो। व्यवसायमा केही चलायमान हुन सुरु गर्दै थियो र शेयर बजारमा पनि सुधारको संकेत देखिन थालेको थियो।

तर गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिका अनिश्चित घटनाक्रमले लगानीकर्तालाई पुनः त्रसित बनायो। यति हुँदाहुँदै पनि बजारले आशा छोडेको थिएन। नयाँ सरकार गठनसँगै अर्थतन्त्रलाई गति दिने, लगानी प्रोत्साहन गर्ने र बजारमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको थियो।

दुर्भाग्यवश, बजेटमार्फत पूँजीगत लाभकरमा गरिएको ५० प्रतिशतसम्मको वृद्धिले बजारमा नकारात्मक प्रभाव पारेको छ। लगानीकर्ताले नकारात्मक सन्देशको रूपमा बुझेका छन्। परिणामस्वरूप बजारमा विश्वास घट्न थाल्यो अनि शेयर बजार घट्दै दैनिक कारोबार रकम खुम्चिएर दुई तीन अर्ब रुपैयाँमा सीमित भयो।

आज सरकार गठन भए पछि नेप्से परिसूचक करिब २५० अंकभन्दा बढीले घटेको छ। यो केवल एउटा सूचकांकको गिरावट मात्र होइन, यो हजारौं लगानीकर्ताको कमजोर बन्दै गएको आत्मविश्वासको प्रतिबिम्ब हो। शेयर बजार देशको आर्थिक ऐना हो। लगानीकर्ताको जब सरकारप्रति विश्वास बढ्छ तब शेयरबजार उकालो लाग्छ, जब विश्वास घट्छ, बजार पनि कमजोर बन्छ।

माननीय मन्त्रीज्यू,करको दर बढाउँदैमा राजस्व बढ्ने भए संसारका सबै देशले अत्याधिक कर लगाइसकेका हुन्थे। करको दरभन्दा महत्वपूर्ण कुरा आर्थिक गतिविधि चलायमान हुनु हो। जब आर्थिक कारोबार घट्छ, लगानी पनि घट्छ र व्यवसाय संकुचित हुन्छन्, तब करको दर बढाएर पनि अपेक्षित राजस्व उठाउन सकिँदैन।

तपाईले चुनावअघि करको दर होइन, करको दायरा बढाउनुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको थियो। यही सोचका कारण धेरैले तपाईप्रति विश्वास गरेका थिए। तर आज नीति व्यवहारमा त्यसको उल्टो देखिँदा लगानीकर्ता अन्योलमा परेका छन्।

अर्थशास्त्रको सिद्धान्त अनुसार, ब्याजदर सस्तो हुँदा बस्तुको लागतमा कमी भइ बजारमा उपभोग्य सामान सस्तो हुने र लगानी बढनुपर्ने तर नेपालमा अहिले बैंक ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि लगानी बढ्न सकेको छैन र जनताले सस्तोमा सामान पाहिरहेका छैन, महँगी बढीरहेको छ। यसले स्पष्ट देखाउँछ कि समस्या ब्याजदरमा होइन, लगानीको वातावरणमा छ। लगानीकर्तालाई नीतिगत स्थिरता, कानुनी सुरक्षा, सरकार प्रतिको विश्वास र भविष्य प्रतिको आशा चाहिन्छ। आज देशभित्रका लगानीकर्ताको अवस्था यस्तो छ कि १२ वर्षअघि खरिद गरिएका कतिपय वाणिज्य बैंकका शेयर लागत फिर्ता दिनु त परैको कुरा प्रतिफल पनि दिन सकेका छैनन्। जब स्वदेशी लगानीकर्ता नै निराश छन्, तब विदेशी लगानीकर्ता कसरी आकर्षित होलान् ?

‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन देश विकास केवल ऋण लिएर प्रशासन सञ्चालन गर्दैमा सम्भव हुँदैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी उद्योग, कृषि, ऊर्जा, पर्यटन र पूँजी बजार मार्फत आर्थिक वृद्धि हासिल गरि कुल गार्हस्थ उत्पादनमा योगदान हुनुपर्छ।

आज निजी क्षेत्र, व्यवसायी र लगानीकर्ताको मनोबल कमजोर छ। बजारमा माग पक्ष सुस्त छ। यस्ता बेला सरकारको एउटा सकारात्मक सन्देश, एउटा दूरदर्शी नीति र एउटा विश्वास दिलाउने कदमले ठूलो परिवर्तन ल्याउन सक्छ।

माननीय मन्त्रीज्यू, शेयरबजारलाई करको भार होइन, आशाको आवश्यकता छ। लगानीकर्तालाई दण्डित गरेर होइन, प्रोत्साहित गरेर मात्र पूँजी निर्माण गर्न सकिन्छ। देशभित्रका लगानीकर्ता खुसी भए विदेशी लगानी स्वतः आकर्षित हुनेछ। निजी क्षेत्र बलियो भए राजस्व पनि स्वाभाविक रूपमा बढ्नेछ।

त्यसैले करको दर वृद्धि भन्दा लगानीमैत्री वातावरण, पूँजी बजारको विकास, नीतिगत स्थिरता र निजी क्षेत्रप्रतिको विश्वास पुनःस्थापनामा विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
 

भवदीय,
राज कुमार पाण्डे
लगानीकर्ता तथा उद्यमी




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।