स्वाभाविक रूपमा लगानीकर्ताले अपेक्षा गरे अब अर्थतन्त्रमा नयाँ ऊर्जा आउनेछ र शेयर बजारले नयाँ उचाइ चुम्नेछ। तर बजेट आयो र पनि बजार उत्साहित हुन सकेन। किन ? किनभने बजारले भाषण सुन्दैन, बजारले नीतिको प्रभाव नाप्छ।
निर्वाचनले सरकार बदल्यो तर लगानीकर्ताको मनोविज्ञान अझै बदलिएको छैन। यसै सन्दर्भमा लगानीकर्ताहरूलाई केही सन्देश दिन चाहन्छु। आदरणीय लगानीकर्ताहरू, आजको सबैभन्दा ठुलो चुनौती बजेट होइन,अपेक्षाको व्यवस्थापन हो। राजनीतिक परिवर्तनले सम्भावना जन्माउँछ तर आर्थिक समृद्धि सिर्जना गर्न समय लाग्छ।
बजारले अहिले तीन कुरा हेरिरहेको छ:
पहिलो, सरकारको कार्यान्वयन क्षमता,
दोस्रो, नेपाल राष्ट्र बैंकको आगामी मौद्रिक नीति,
तेस्रो, निजी क्षेत्रमाथिको विश्वास।
शेयर बजार उत्साहले पनि केही माथि जान सक्छ तर वृद्धि टिकाउ रहिरहन कम्पनीको अथवा समग्र इन्डस्ट्रीको आम्दानी, उत्पादकत्व र नाफा चाहिन्छ। त्यसैले यो समय अफवाहको पछि दौडिने होइन, गुणस्तरीय कम्पनीको मूल्याङ्कन गर्ने समय हो। धैर्यवान लगानीकर्ता जहिले पनि भावनात्मक लगानीकर्ता भन्दा सफल हुने गर्दछन्। त्यसैले शेयर बजारलाई भाषण होइन तरलता चाहिन्छ। नारा होइन नीतिगत निश्चितता चाहिन्छ।
यसै सन्दर्भमा पनि म सरकारलाई केही भन्न चाहन्छु। दुई तिहाइ बहुमत इतिहास बनाउने अवसर हो। तर इतिहास केवल बहुमतले बन्दैन, परिणामले बन्छ। शेयर बजारलाई सकारात्मक सन्देश दिन सरकारबाट तीन महत्वपूर्ण कदम आवश्यक छ।
पहिलो, नीतिगत निश्चितता:
लगानीकर्ताले कर प्रणाली, पूँजीगत लाभकर, मार्जिन लेन्डिङ र नियमन सम्बन्धी स्पष्टता खोजिरहेका छन्। अनिश्चितता नै बजारको सबैभन्दा ठुलो शत्रु हो।
दोस्रो, तरलता व्यवस्थापन:
राजस्व संकलन मात्र होइन, पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयन आवश्यक छ। सरकारी पैसा अर्थतन्त्रमा प्रवाह नभएसम्म निजी क्षेत्र सक्रिय हुँदैन।
तेस्रो, संस्थागत पूँजीको प्रवेश:
एनआरएन (NRN), विदेशी संस्थागत लगानीकर्ता, पेन्सन फन्ड र दीर्घकालीन पूँजीलाई बजारमा प्रवेश गराउने संरचना निर्माण नगरी नेपालको पूँजी बजार परिपक्व हुन सक्दैन।
अन्तमा, राजनीतिक परिवर्तनले आशा दिन्छ। आर्थिक नीति र संस्थागत सुशासनले मात्र समृद्धि दिन्छ। सरकारले विश्वास निर्माण गरोस्, लगानीकर्ताले धैर्यता राखुन्। किनभने बजारको वास्तविक बुल रन नारा र उत्साहमा होइन, विश्वास, पुँजी र उत्पादनशील अर्थतन्त्रबाट सुरु हुन्छ। क्रान्तिले सत्ता परिवर्तन गर्छ तर पूँजीले मात्र समृद्धि निर्माण गर्छ।
नोट:- सिजापतिले सामाजिक सञ्जाल मार्फत लगानीकर्तालाई दिएको सन्देश, सिजापति स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष हुन्।