१० खेलाडीमा समेटिएको बेल्जियम इरानसँग रोकियो, उरुग्वेलाई काबो भेर्डेको कडा झट्का

Jun 22, 2026 06:43 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत आज भएका खेलहरूमा केही अप्रत्याशित र रोमाञ्चक नतिजाहरू बाहिर आएका छन्। समूह एच को खेलमा कमजोर मानिएको काबो भेर्डेले पूर्व विजेता उरुग्वेलाई २–२ को बराबरीमा रोकेर सनसनी मच्चाएको छ।

अर्कोतर्फ, समूह जी मा उपाधि दाबेदार बेल्जियम एसियाली शक्ति इरानसँग ०–० को गोलरहित बराबरीमा रोकिन पुगेको छ।

क्यालिफोर्नियाको लस एन्जलस स्टेडियममा भएको खेलमा उपाधि दाबेदार बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीको यो प्रतियोगितामा लगातार दोस्रो बराबरी हो। खेलमा बेल्जियमका थिबाउट कोर्टुवा र इरानका अलिरेजा बेइरानभान्डले उत्कृष्ट बचाउहरू गर्दै आ(आफ्नो टोलीको संकट टारे। कोर्टुवाले इरानका मेहदी तारेमी र कनानीका खतरनाक प्रहारहरू विफल पारेका थिए।

खेलको २५औँ मिनेटमा इरानका मेहदी तारेमीले बललाई जाली चुमाएका थिए, तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड ठहर गरिदियो। खेलको ६६औँ मिनेटमा बेल्जियमका सेन्टर–ब्याक नाथान न्गोयले इरानका तारेमीलाई लडाएपछि सिधै रातो कार्ड पाएका थिए। १० खेलाडीमा सीमित भए पनि बेल्जियमले इरानलाई गोल गर्न दिएन।

त्यस्तै, फ्लोरिडाको मायामी स्टेडियममा भएको खेलमा काबो भेर्डेले उरुग्वेविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै २–२ को रोमाञ्चक बराबरी खेलेको छ। स्पेनलाई गोलरहित बराबरीमा रोकेको काबो भेर्डेले आज पनि आफ्नो उच्च मनोबल प्रदर्शन गर्‍यो।खेलको २१औँ मिनेटमा ३४ यार्ड टाढाबाट केभिन पिनाले प्रहार गरेको फ्रि–किक सिधै गोलमा परिणत भएपछि काबो भेर्डेले स्तब्ध पार्ने अग्रता लियो।

पहिलो हाफको अन्त्यतिर उरुग्वेले कमब्याक गर्‍यो। ४४औँ मिनेटमा माक्सी अराउजोले हेडमार्फत बराबरी गोल गरे भने पहिलो हाफकै इन्जुरी समयमा आगुस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए। खेलको ६१औँ मिनेटमा उरुग्वेका डिफेन्डर माथियास ओलिभेराको गल्तीको फाइदा उठाउँदै काबो भेर्डेका हेलियो वारेलाले गोल गरी खेललाई २–२ को बराबरीमा ल्याए, जुन खेलको अन्तिम नतिजा बन्यो।

आजको खेलमा उरुग्वेका फर्नान्डो मुस्लेरा र काबो भेर्डेका बोजिन्हाले गोलपोस्ट सम्हालेका थिए। विश्वकपको इतिहासमा दुवै टोलीबाट ४० वर्ष नाघेका गोलकिपरहरूले सुरुवाती–११ मा खेलेको यो पहिलो पटक हो।

समूह जी मा २ खेलपछि बेल्जियम र इरान दुवैको २–२ अंक भएको छ र दुवै टोली पहिलो जितको पर्खाइमा छन्।

समूह एचमा भने स्पेन २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ भने उरुग्वे र काबो भेर्डेको समान २–२ अंक रहेको छ। नकआउट चरणको समीकरणका लागि अब अन्तिम खेल निकै रोमाञ्चक हुने देखिन्छ।