भारतले नेपाली चियामा अघोषित नाकाबन्दी लगाएसँगै चिया उद्योगहरु बन्द भएका थिए । चिया उद्योग बन्द भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गम्भीर चासो देखाउँदै चिया उद्योगीहरु बोलाएर छलफल गरेको थियो ।
छलफलका क्रममा निर्यात रोकिँदा स्टकमा रहेको चिया बिक्री गर्न सहजीकरण गर्ने, सञ्चालनका लागि बैंक तथा वित्तिय संस्थाबाट लोन(ऋण) दिने लगायतका आश्वासन दिएकाले बन्द भएका चिया उद्योग खोल्ने सहमतिमा पुगेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।
‘हामी प्रधानमन्त्रीको कोर टिमसँग छलफल गर्यौं । उहाँहरु सहजीकरण गर्ने र अप्ठ्यारो परेमा लोनको समेत व्यवस्था गर्नेलगायतका सहजीकरण गर्ने आश्वासन दिनुभयो,’ उनले भने, ‘बन्द उद्योगहरु आजदेखि औपचारिक रुपमा खुल्न थालेका छन् ।’
उनले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने सहमति भएको बताए ।