केही हप्तादेखि बर्डफ्लु संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।
बनेपा नगरपालिका–६ र १३, पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार, मरेका हाँस–कुखुरालाई खोला, झाडी र अरू खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जंगली चरामार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
कार्यालयले संक्रमण न्यूनीकरणका निम्ति परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए ।
विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमणदर बढ्दै गएको बताइन्छ । ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागु गरिनुपर्नेमा जोड दिए ।
कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नैपरे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे ।
जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ ।
यसअघि, गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु संक्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो । रासस