बजारको मनोबल उकास्ने र वित्तीय जोखिम न्यूनीकरण गर्ने पक्षमा राष्ट्र बैंक

Jun 30, 2026 08:06 PM Merolagani



नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीलाई अन्तिम चरणमा पुर्‍याइरहेका बेला लगानीकर्ताको आत्मविश्वास बढाउन प्रोत्साहन प्याकेज ल्याउने तयारी गरेको छ। 

आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले राजधानीमा आयोजना गरेको मौद्रिक नीति पूर्वको विशेष छलफल कार्यक्रममा बोल्दै केन्द्रीय बैंकका कार्यकारी निर्देशक एवम प्रवक्ता गुरुप्रसाद पौडेलले बजारमा शिथिलता रहेकाले उपभोक्ता र लगानीकर्ताको मनोबल उकास्न तत्काल विशेष कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

सरकारको नयाँ बजेटले केही आशाहरू जगाए पनि बजारमा अझै अनिश्चितता कायम रहेकाले मौद्रिक नीति आउनुअगावै उपभोक्ताको आत्मविश्वास बढाउने खालको प्रोत्साहन प्याकेज ल्याउनु उपयुक्त हुने उनको भनाइ थियो।

छलफलका क्रममा प्रवक्ता पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह र त्यसको जोखिम व्यवस्थापनका विषयमा गम्भीर तथ्याङ्क सार्वजनिक गरे। हाल बैंकहरूको कुल कर्जाको करिब १०.९ प्रतिशत हिस्सा विशेष निगरानी सूचीमा रहेको उनले जानकारी दिए। यो वर्गमा रहेका कर्जाहरू खराब कर्जामा परिणत हुन सक्ने सम्भावना उच्च रहने हुनाले राष्ट्र बैंकले यसलाई गम्भीरतापूर्वक हेरिरहेको उनको भनाइ थियो। यदि यी कर्जाहरूको अवस्था थप बिग्रिएमा बैंकहरूले २५ प्रतिशतसम्मको ठुलो रकम कर्जा नोक्सानी व्यवस्थाका रूपमा छुट्याउनुपर्ने वित्तीय बाध्यता आउने तर्फ उनले सचेत गराए। यही जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले सम्भावित संकट टार्नका लागि बेलैमा सतर्कता अपनाउँदै सुरक्षित नीतिहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गरे। 

बैंकिङ क्षेत्रमा रहेका खराब कर्जाहरूको उचित व्यवस्थापनका लागि वर्षौँदेखि प्रतीक्षा गरिएको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता पौडेलले घोषणा गरे। राष्ट्र बैंकले यस सम्बन्धी कानुनी मस्यौदा तयार पारेर अगाडि बढाइसकेको र सरकारले आगामी पुस मसान्तभित्रै यसलाई मूर्त रूप दिने तयारी गरेको उनले स्पष्ट पारे। अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेका विभिन्न मोडेलहरूको गहन अध्ययन गरी नेपालको माटो सुहाउँदो मिश्रित मोडेलको कम्पनी स्थापना गरिने उनको भनाइ थियो। यसले बैंकहरूको वासलात सफा गर्न र वित्तीय प्रणालीलाई थप गतिशील बनाउन ठुलो मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

सरकारले बजेटमार्फत अघि सारेको राष्ट्रिय सम्पत्ति कोषको सञ्चालन र व्यवस्थापन राष्ट्र बैंक ऐनकै परिधिभित्र रहेर केन्द्रीय बैंकले नै गर्ने गृहकार्य भइरहेको उनले जानकारी दिए। नेपालसँग हाल पर्याप्त वैदेशिक विनिमय सञ्चिति रहेकाले यसको सुरक्षित र अधिकतम परिचालनका लागि नयाँ रणनीति बनाइँदैछ। प्रवक्ता पौडेलका अनुसार कुल सञ्चितिलाई मुख्य दुई हिस्सामा विभाजन गरिनेछ, जसमा वस्तु तथा सेवा आयातका लागि आवश्यक पर्ने सात महिनाको रकमलाई पूर्ण रूपमा सुरक्षित तरलता हिस्साका रूपमा राखिनेछ भने बाँकी रहेको अतिरिक्त रकमलाई छुट्टै लगानी हिस्सा बनाएर अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानीका लागि उपयोग गरिनेछ। यसका लागि आवश्यक नियमनकारी संरचना र कार्यविधि बनाउने काम भइरहेको उनले बताए।

अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र बैंकले मुलुकका वाणिज्य बैंकहरूमध्ये प्रणालीगत रूपमा अत्यधिक महत्त्वपूर्ण रहेका बैंकहरूको पहिचान गर्ने कार्यविधि बनाएको छ। यस्ता बैंकहरूको पहिचानका लागि बैंकको कुल आकारलाई ४० प्रतिशत, अन्तर-सम्बद्धतालाई ४० प्रतिशत, वित्तीय जटिलतालाई १५ प्रतिशत र प्रतिस्थापन योग्यतालाई १५ प्रतिशत भार दिएर मूल्यांकन गरिने उनले स्पष्ट पारे। आगामी असोज मसान्तभित्र राष्ट्र बैंकले यस्ता बैंकहरूको सूची सार्वजनिक गर्नेछ र वित्तीय स्थायित्वका लागि आवश्यक परेमा उनीहरूलाई बढीमा १ प्रतिशतसम्म थप पूँजी कोष कायम गर्न लगाइनेछ। कार्यक्रमको अन्त्यमा प्रवक्ता पौडेलले राष्ट्र बैंक ऐनको संशोधनमार्फत केन्द्रीय बैंकलाई नीति निर्माण र वित्तीय स्थायित्वका क्षेत्रमा थप स्वायत्त बनाउन लागिएको जानकारी दिए। साथै, हाल व्यवस्था रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप बीमा प्रणालीलाई थप परिमार्जन गरी बैंकहरू पूर्ण रूपमा खारेजीमा जानु अगावै समस्याग्रस्त अवस्थामै साना निक्षेपकर्ताहरूको रकम तुरुन्त फिर्ता गर्न सकिने गरी कानुनी सुधार गर्नुपर्नेमा उनले जोड दिए। धितोपत्र बोर्ड लगायतका अन्य सरकारी नियामक निकायहरूसँग निरन्तर समन्वय गरेर मात्र समग्र वित्तीय बजारलाई सुरक्षित र भरपर्दो बनाउन सकिने उनको निष्कर्ष थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।