सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका लागि बिहीबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले तेस्रो पटक ६ दिनको म्याद थप गरेको हो।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेललाई पहिलो पटक ७ दिन र दोस्रो पटक ३ दिनको म्याद थप गरिएको थियो।
विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको श्रीराम टोबाको उद्योग प्रालिको सेयर खरिद-बिक्री प्रकरण र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनीमाथि अर्थमन्त्री हुँदा राजनीतिक प्रभावको दुरुपयोग गरी भट्टलाई फाइदा पुर्याएको र गैरकानुनी रूपमा रकम शुद्धीकरण गर्न सहयोग गरेको आरोप लागेको छ।
अर्कोतर्फ, पौडेलकी पत्नी दोमाया पौडेलले श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि पनि सर्वोच्चमा सुनुवाइ भइरहेको छ।