यो काण्ड सार्वजनिक भैसक्दा समेत एकातर्फ ठगीका घटनाहरु बढ्न सक्ने र अर्काे तर्फ ‘अनलाइन प्लेटफर्म’हरु मार्फत आम्दानी गरिरहेका सांगीतिकसहित विभिन्न क्षेत्रका हजारौं मानिसहरुको आम्दानी घट्न सक्ने चिन्ता सरोकारवालाहरुमा बढेको छ ।
के हो ‘कालसी-स्पोटिफाई काण्ड’ काण्डर ?
अमेरिकाको वित्तीय नियामक निकाय (CFTC) बाट मान्यता प्राप्त प्रेडिक्सन मार्केट (भविष्यवाणी बजार) कालसीले केही दिन अघि एउटा अनौठो प्रश्नसहित सट्टेबाजी खुला गरेको थियो– जुन महिनाको अन्त्यमा स्पोटिफाईको अमेरिकी चार्टमा कुन गीत नम्बर १ मा पुग्ला ?

यस बाजीमा विश्वभरका जुवाडे र व्यापारीहरूले करिब ३० लाख डलर (करिब ४० करोड नेपाली रुपैयाँ) को दाउ लगाएका थिए । त्यहीक्रममा सन् २०२४ मा रिलिज भएको गायक माल्कम टोडको Earrings नामक एउटा सामान्य गीत अचानक दुई दिनभित्र ७० प्रतिशतले वृद्धि हुँदै स्पोटिफाईको चार्टमा पहिलो नम्बरमा पुग्यो ।
व्यवसायीले कालेब डेभिसले यसको गणितीय अनुसन्धान गर्दा यो सामान्य रूपमा सम्भव नभएको पत्ता लगाए । वास्तवमा, कालसीमा सो गीत जित्छ भनी ठुलो रकम लगानी गरेका सट्टेबाजहरूले आफैँ बोट्स (प्रोग्राम गरिएका कम्प्युटरहरू र नक्कली श्रोता) प्रयोग गरेर स्पोटिफाईमा सो गीत लाखौँ पटक बजाउन लगाएका थिए ।
स्पोटिफाईले छानबिन गरी ५ लाख भन्दा बढी नक्कली स्ट्रिमहरू (Fake Streams) हटाउनु भन्दा केही घण्टा अगाडि नै कालसीले हतार हतार नक्कली डेटाकै आधारमा विजेता घोषणा गरेर सट्टेबाजहरूलाई पैसा भुक्तानी गरिसकेको थियो । बोट्स प्रयोग गर्ने जुवाडेहरूले आफ्नो लगानीको २० गुणा बढी नाफा कुम्ल्याएर भागिसकेका छन् ।
स्पोटिफाईको कानुनी एक्सन पछि प्रतिबन्ध र बहिस्कार
आफ्नो ब्राण्डको नाममा जुवा खेलाइएको भन्दै आक्रोशित स्पोटिफाईले कालसी र पोलिमार्केट जस्ता सट्टेबाजी प्लेटफर्मलाई आफ्नो लोगो र नाम तुरुन्त हटाउन कानुनी चेतावनी दिएको छ। कम्पनीको त्यो चेतावनीपछि अमेरिकाको वित्तीय नियामक (CFTC) ले यसलाई डिजिटल युगको नयाँ मार्केट म्यानिपुलेसन भन्दै छानबिन थालेको छ। अमेरिकाका केन्टकी, मासाचुसेट्स र न्युजर्सी जस्ता राज्यहरूले कालसी विरुद्ध उपभोक्ता ठगीको मुद्दा दायर गर्दै प्रतिबन्ध लगाउन सुरु गरेका छन् ।त्यस्तै धेरै व्यवसायीहरुले अबदेखि मनोरञ्जन र सामाजिक सञ्जालको डेटामा आधारित सट्टेबाजी पूर्ण रूपमा बहिष्कार गर्ने घोषणा गरेका छन्।
विश्लेषकहरुले यो घटना अर्थात् तेस्रो पक्षको डिजिटल डेटा (युट्युब भ्युज, टिकटक ट्रेन्ड वा स्पोटिफाई स्ट्रिम) लाई कृत्रिम रूपमा बढाएर वित्तीय लाभ लिनुलाई शेयर बजारमा हुने गरेको इन्साइडर ट्रेडिङ जस्तै गम्भीर वित्तीय अपराध भएको दावि गरिरहेका छन् । यो घटनापछि विश्वभरका सरकारहरुले यस्तो इन्साइडर ट्रेडिङ रोक्नको लागि नयाँ नयाँ कानुनहरु बनाउने सम्भावना रहेको कतिपय विश्लेषकहरुको भनाई छ । साथै वित्तीय सम्झौताहरूमा बाहिरी संसारको डेटा जोडिने प्रविधि (ओराकल) मा समेत व्यापक परिवर्तन हुने तथा वित्तीय कम्पनीहरूले डेटा आउने बित्तिकै पैसा बाँड्ने हतारो नगरी, त्यसको सत्यता परीक्षण गर्ने र त्यसले गर्दा सिंगो भुक्तानी प्रणालीमा ढिला सुस्ति हुने अनुमान गरिएको छ ।
नेपालमा यसको के असर पर्छ ?
अन्तर्राष्ट्रिय बजारमा घटेको यो घटनाले नेपालको अर्थतन्त्र, संगीत उद्योग र कानुनी दायरामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । नेपाल सरकारले केही समय अघि अनलाइन बेटिङ र जुवाका साइटहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। नेपालका केही युवाहरूले लुकिछिपी क्रिप्टो र हुन्डीको माध्यमबाट अन्तर्राष्ट्रिय प्रेडिक्सन मार्केट (जस्तै पोलिमार्केट) मा पैसा लगानी गरिरहेको फेला परेकाले नेपाल प्रहरीको साइबर ब्युरो र सिआइबीले यसमा निगरानी अझ कडा पारेका छन्।
नेपाली गीत संगीत पनि अचेल डिजिटल भ्युज र स्ट्रिमिङमै टिकेको छ। नेपालमा पनि युट्युब र टिकटकमा कृत्रिम भ्युज किन्ने प्रवृत्ति छ। यो काण्डपछि स्पोटिफाईले दक्षिण एसियाली देशका स्ट्रिमिङ डेटालाई अझ बढी शङ्काको घेरामा राख्नेछ, जसले गर्दा वास्तविक नेपाली कलाकारहरूको पहुँचमा असर पर्न सक्छ। साथै अर्काे तर्फ ‘अनलाइन प्लेटफर्म’हरु मार्फत आम्दानी गरिरहेका सांगीतिकसहित विभिन्न क्षेत्रका हजारौं मानिसहरुको आम्दानी घट्न सक्ने चिन्ता सरोकारवालाहरुमा बढेको छ ।