आरबीसी कार्यान्वयनको दुई वर्ष: व्यावहारिक रूपमा परिमार्जन गर्दै लैजाने बीमा प्राधिकरणको प्रतिवद्धता

Jul 08, 2026 05:49 PM Merolagani



नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा लागू गरिएको जोखिममा आधारित पूँजी (आरबीसी) सम्बन्धी व्यवस्थालाई बीमकहरूबाट प्राप्त हुने सुझावका आधारमा व्यावहारिक रूपमा समयानुकूल परिमार्जन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज आयोजित बीमा क्षेत्रमा आरबीसी कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अधिकारीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी कार्यान्वयन सफल ढंगले अगाडि बढिरहेको बताए । उनले आरबीसी कार्यान्वयनको दुई वर्षको सङ्क्रमणकालमा देखिएका सजिला र अप्ठ्यारा पक्षहरूमा छलफल गरी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा ठोस निष्कर्ष सहितको सुझाव दिन बीमकहरूलाई आग्रह गरे । बीमकहरूबाट प्राप्त हुने सुझावहरू समेतका आधारमा यो व्यवस्था परिमार्जन हुँदै जाने उनले स्पष्ट पारे ।

प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले जोखिममा आधारित पूँजीको कार्यान्वयन सम्बद्ध सबैको सिकाई, मूल्याङ्कन, समीक्षा तथा विश्लेषण र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा निरन्तर सुधार तथा परिमार्जनका साथ प्रभावकारी रूपले अगाडि बढ्दै जाने उल्लेख गरे ।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्षको समीक्षा र परिमार्जनका विषयहरू सम्बन्धी प्रस्तुतीकरण गरेकी थिइन् । उनले आरबीसी कार्यान्वयनका सन्दर्भमा प्राधिकरणले बीमकहरूबाट तथ्याङ्कको गुणस्तर तथा प्रणालीमा सुधार, बीमाङ्कीको क्षमता अभिवृद्धि, संस्थागत जोखिम संस्कृतिको विकास, जोखिम व्यवस्थापनको सुदृढीकरण र समयमैं प्रतिवेदन पेसको अपेक्षा गरेको जानकारी दिइन् ।

जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले जोखिममा आधारित पूँजी कार्यान्वयनका सन्दर्भमा संघले दिएका सुझावहरू ग्रहण गरेकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । सहभागीहरूले कार्यान्वयनका क्रममा हासिल गरेका अनुभव आदान–प्रदान गर्नुका साथै जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिकामा विद्यमान र प्रस्तावित व्यवस्थाका सम्बन्धमा जिज्ञासाहरू राखेका थिए ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्तप्रसाद बोहराले प्राधिकरणले यस वर्षदेखि बीमा सम्बन्धी सम्पूर्ण तथ्याङ्कहरू समावेश गरी वार्षिक पुस्तक प्रकाशन गर्न शुरू गरेको बताए । उनले पहिलो वार्षिक पुस्तकका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल यएर बुक २०८१/८२’ प्रकाशन गरेको जानकारी दिए ।

 

कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख र आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक करूणा थापाले गरेकी थिइन् ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ