आर्थिक वर्षको अन्त्य नजिकिएसँगै धितोपत्र बजारमा ऋणपत्रको कारोबार बढ्यो

Jul 09, 2026 03:11 PM Merolagani



आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा नेपाली धितोपत्र बजारमा ऋणपत्रको कारोबार बढ्न थालेको छ। पछिल्ला केही कारोबार दिनदेखि नेप्सेमा कारोबार रकमका आधारमा सर्वाधिक खरिदबिक्री हुने स्टकहरुको सूचीमा ऋणपत्रहरु शीर्ष स्थानमा रहेका छन्।

सो क्रमलाई यस दिन पनि निरन्तरता पाएको छ। कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। यस दिन साढे ३५ करोड रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन साढे २८ करोड रुपैयाँभन्दा बढीको १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ किनबेच भएको छ भने करिब २१ करोड रुपैयाँबराबरको ८.५ प्रशित बिओके डिबेञ्चर २०८६ खरिदबिक्री भएको छ।

आर्थिक वर्षको अन्त्यसँगै ऋणपत्रहरुले ब्याज रकम दिने भएकोले पछिल्ला दिनहरुमा ऋणपत्रमा लगानीकर्ताहरुको आकर्षण देखिएको हो। बजार घट्दो क्रममा रहेको समयमा ऋणपत्रबाट निक्षेप तथा बजारभन्दा बढी प्रतिफल पाइने भएकोले ऋणपत्रको कारोबार बढ्न थालेको विश्लेषकहरुको भनाइ छ।

ऋणपत्र धेरै कारोबार भएसँगै नेप्सेका कारोबार रकम पनि ४ अर्ब नाघेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ८२ करोड रुपैयाँबराबरको धितोपत्र कारोबार भएको बजारमा यस दिन ३६१ स्टकको ५७ हजार ८६४ पटकको कारोबारमा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार रुपैयाँबराबरको ८७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ।

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १२.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बिओके डिबेञ्चर २०८६ क को मूल्य यस दिन सर्वाधिक ८.६६ प्रतिशत घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ