बालेनको क्रेज, वाग्लेको अर्थशास्त्र, बजेट, मौद्रिक नीति, सेबाेन अध्यक्षको नियुक्तिले पनि छाेएन, आखिर के कुराले शेयर बजारलाई ट्रिगर गर्ला ?

Jul 11, 2026 05:41 PM Merolagani



सुवास निरौला 

काठमाडौँको पुतलीसडकदेखि नयाँ बानेश्वरका ब्रोकर अफिससम्म अहिले एउटा अनौठो सन्नाटा छ। बाहिर साउनको झरी परिरहेको छ। 

तर शेयर बजारका लगानीकर्ताहरूको मनमा भने ‘अतिशय डर’ (Extreme Fear) छ। बजारमा तरलता (पूँजी) को अभाव छैन, बैंकहरूमा पैसा थुप्रिएको छ, ब्याजदर एकल अंकमा झर्ने तरखरमा छ। तर, एउटा गम्भीर प्रश्नले सबैलाई गाँजेको छ– ‘पैसा त छ, तर साहस खोइ ?’

अहिलेको शेयर बजारलाई हेर्दा यस्तो लाग्छ, यो एउटा यस्तो पानीजहाज हो जसमा इन्धन त टन्न छ, तर चालकमाथि चालक दलकै भरोसा छैन।

बालेन र स्वर्णिमको आगमन र पहिलो झट्का

ठिक १०० दिनअघि चैत १३ गते, देशमा एउटा नयाँ राजनीतिक समीकरण बन्यो। युवा पुस्ताका ढुकढुकी बालेन शाह प्रधानमन्त्री र अर्थतन्त्रका ज्ञाता डा. स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भए। बजारमा एउटा ठुलो आशाको सञ्चार भएको थियो– ‘अब त केही होला !’ बौद्धिक अर्थमन्त्री र 'एक्सन' ओरिएन्टेड प्रधानमन्त्री आएपछि शेयर बजारले एकाएक पखेटा हाल्ने अनुमान थियो।

तर, विडम्बना ! जुन दिन सरकार गठन भयो, त्यसै दिन पछि खुलेको शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ मा झर्‍यो। त्यो गिरावट केवल अंकको गिरावट थिएन, त्यो त लगानीकर्ताको ‘बौद्धिक नेतृत्व’ माथिको पहिलो शंका थियो। अर्थमन्त्री वाग्लेले लगानीकर्ताको विश्वास जित्न सुरुका दिनमा धेरै बोले। उनले 'अर्थतन्त्रमा सुधार आउँदै छ', 'पूँजी बजार मेरो प्राथमिकतामा छ' भनिरहे। तर, बजारले उनको शब्द होइन, उनको कदम खोजिरहेको थियो।

 जेठ १५ को त्यो खल्लो दिन

अर्थमन्त्रीले पटक–पटक भने, "बजेटसम्म कुर्नुहोस्, त्यहाँ धेरै कुरा सम्बोधन हुनेछन्।" लगानीकर्ताहरूले जेठ १५ लाई एउटा ‘मुक्ति दिवस’ का रूपमा पर्खे। नीतिगत अस्पष्टता हट्ने र पूँजीगत लाभकरदेखि कर्जाको सीमासम्मका गाँठो फुक्ने आशा थियो।

जेठ १५ मा बजेट आयो। तर, बजेटको पाना पल्टाउँदा लगानीकर्ताले आफूलाई फेरि उपेक्षित पाए। परिणामस्वरूप, बजेट आएको भोलिपल्टै बजार २६.७३ अंकले घटेर २७५५.३७ मा ओर्लियो। अर्थमन्त्रीका कुरालाई लगानीकर्ताले ‘फकाउनका लागि बोलिएका मिठा गफ’ मात्र ठाने। बजारमा एउटा भाष्य स्थापित भयो– "सरकारका शब्द र नियतबिच ठुलो खाडल छ।"

 गोपाल भट्टको आगमन र निरन्तरको ओरालो

बजेटपछि फेरि अर्को आशाको त्यान्द्रो पलायो– धितोपत्र बोर्ड (SEBON) को अध्यक्ष नियुक्ति। महिनौँदेखि नेतृत्वविहीन बोर्डमा असार ५ गते गोपाल भट्टलाई नियुक्त गरियो। एउटा स्वायत्त र बलियो नियामक आएपछि बजारले गति लिने अनुमान थियो।

तर, यो आशा पनि बालुवाको घर साबित भयो। भट्ट नियुक्त भएको भोलिपल्टै बजार १.४६ अंकले घटेर २७००.०५ मा झर्‍यो। उनी पदमा बहाल नहुन्जेल एक हप्तासम्म बजारमा रातो रङ मात्र देखियो। नियामकको अनुहार फेरिँदैमा नीति र नियति फेरिँदैन भन्ने तितो सत्य लगानीकर्ताले बुझिसकेका थिए।

अन्तिम आशाको पनि अन्त्य

नेपालको शेयर बजारलाई सबैभन्दा बढी प्रभाव पार्ने तत्त्व भनेकै राष्ट्र बैंकको मौद्रिक नीति हो। असार २३ गते मौद्रिक नीति आयो। लगानीकर्तालाई लागेको थियो, "अब त राष्ट्र बैंक अलिकति लचिलो बन्ला।

तर, जब नीति सार्वजनिक भयो, त्यसले पनि काम गरेन। शेयर बजारले मौद्रिक नीति पनि रिजेक्ट गर्‍यो। नीति आएको भोलिपल्टै बजार ३०.०९ अंकले घटेर २६२१.५९ अंकमा थचारियो। यो गिरावटले के स्पष्ट पार्‍यो भने, न त सरकार, न नियामक, न त केन्द्रीय बैंक नै पूँजी बजारप्रति संवेदनशील छन्।

 'कन्फिडेन्स' को खडेरी

हिजो मात्रै धितोपत्र बोर्डले लगानीकर्ताको मनोबल बढाउन भन्दै एउटा विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा "लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिएको" र "अध्ययन र विश्लेषणका आधारमा लगानी गर्न" भनिएको छ। तर, बजार सुधारिने कुनै संकेत छैन।

किन त ?

किनकि अहिलेको समस्या 'पैसा' को होइन। बैंकमा अन्तरबैंक ब्याजदर न्यून छ, तरलता अधिक छ। समस्या त 'विश्वास' (Confidence) को हो। लगानीकर्ताहरूमा एउटा यस्तो मनोवैज्ञानिक सन्त्रास छ कि, उनीहरूलाई लाग्छ– "मैले आज शेयर किनेँ भने भोलि फेरि कुन नीति परिवर्तन भएर मेरो सम्पत्ति स्वाहा हुने हो ?"

कता हरायो त विश्वास ?

हामीले सानोमा पढेको 'बाघ आयो बाघ आयो' भन्ने कथा अहिलेको शेयर बजारसँग दुरुस्तै मिल्छ। 

'बाघ आयो बाघ आयो' भनेर...गाउँले बोलाउने रमाइलो गर्ने पछि लास्टमा साँच्चै बाघ आयो तर बचाउने मान्छे आएनन्, अहिले ठ्याक्कै त्यस्तै अवस्था छ। पहिला चाहिने नचाहिने कुरा गरेर सरकारले तर्सायो। अब राम्रो राम्रो मात्रै गर्छु भनिरहेको छ सरकार। तर अहिले जे  कुरा गर्दा पनि लगानीकर्ताले पत्याउनै छोडे। 

 

सरकारले  सुरुमा अलिकति बढी नै ड्याङडुङ गर्‍यो। जसले लगानीकर्ताको मनोबल ह्वा्तै घट्यो। मार्केटमा एक्सट्रिम फियर (Extreme Fear) को अवस्था सिर्जना भयो।  पहिला पहिला मार्केटमा एक्सट्रिम फियरको अवस्था आइसकेपछि बजार बिस्तारै फर्किन्थ्यो। किनभने पहिलाको सरकारको सेटअपमा मान्छेहरू युज्ड टु (Used to) थिए। तर अहिले भइसकेका छैनन्।  अहिलेको सेटअपमा मान्छेलाई कन्फिडेन्स आउन सकिरहेको छैन। अहिले सरकारले साँच्चै सुधार गर्न खोजे पनि लगानीकर्ताले पत्याउँदै पत्याउँदैनन्।  

नयाँ सरकारको १०० दिनको मधुमास सकिँदा लगानीकर्ताको हातमा केवल रातो पोर्टफोलियो र मनमा डर मात्र बाँकी छ। न त बालेन शाहको क्रेजले बजार बढ्यो, न स्वर्णिम वाग्लेको अर्थशास्त्रले। न त नयाँ बजेटले मल्हम लगायो, न मौद्रिक नीतिले। न त नयाँ अध्यक्षको नियुक्तिले उत्साह भर्‍यो, न बोर्डको विज्ञप्तिले।

शेयर बजारको यो ऐना हो, जसले राज्यको पूँजी बजारप्रतिको उदासीनतालाई नराम्ररी गिज्याइरहेको छ। बजारलाई अहिले पैसाको इन्जेक्सन होइन, 'नीतिगत स्थिरता' को भरोसा चाहिएको छ। जबसम्म लगानीकर्ताले "मेरो लगानी सुरक्षित छ र राज्य मेरो अभिभावक हो" भन्ने महसुस गर्दैनन्, तबसम्म पैसा जतिसुकै सस्तो भए पनि नेप्सेको उकालो यात्रा एउटा 'मृगतृष्णा' मात्र रहनेछ। 

अन्तिममा बजार सधैँ घटिरहँदैन, आखिर शेयर बजार भनेको बढ्ने नै हो। तर अहिलेसम्मको स्थितिमा कुनै पनि कुराले बजारलाई ट्रिगर गर्न सकेको छैन। तर कुन दिन के कुराले शेयर बजारलाई ट्रिगर गर्छ त्यो भने भविष्यकै गर्भमा छ। 




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ