स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार बोर्डले बजार सुधारका लागि ल्याउन लागेको कार्य योजनाका विषयमा छलफल गर्न एसोसिएसनका प्रतिनिधिहरूलाई आज मध्यान्ह साढे १२ बजे बोलाएको हो। बोर्डले पछिल्लो समय बजारमा देखिएका समस्या समाधानका लागि केही नीतिगत सुधार र कार्य योजना तयार गरिरहेको र त्यसमा सरोकारवालाको सुझाव लिने उद्देश्यले यो बैठक डाकिएको बताइएको छ।

तर आजै दबाबमूलक कार्यक्रम गरिरहेका लगानीकर्ताहरूले उनीहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। बजारमा आएको भारी गिरावटपछि 'रेस्क्यु प्लान' (उद्धार योजना) को माग गर्दै धितोपत्र बोर्डको गेटमा धर्ना दिइरहेका लगानीकर्ताहरूले यस्तो चेतावनी दिएका हुन्।
धितोपत्र बोर्डको कार्यालय अगाडि दबाबमूलक कार्यक्रम गरिरहेका लगानीकर्ताहरू ब्रोकरहरूसँग मात्र गरिने वार्ताको विपक्षमा देखिएका छन्। आन्दोलनको सहजकर्ताका रूपमा सक्रिय लगानीकर्ता तिलक कोइरालाले लगानीकर्ताहरू सडकमा बसेर दबाबमूलक कार्यक्रम गरिरहेको समयमा ब्रोकरहरू मात्र भित्र छिरेर वार्ता गर्नु आफूहरूका लागि पाच्य नहुने बताएका छन्।
कोइरालाले भने, "हजारौँ लगानीकर्ताको सम्पत्ति सखाप हुँदा हामी बाहिर सडकमा माग राखिरहेका छौँ, यस्तो अवस्थामा ब्रोकरहरू मात्र भित्र बसेर वार्ता गर्ने काम हामीलाई स्वीकार्य छैन। त्यसैले हामीले ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूलाई बोर्ड परिसरभित्र पस्न नदिने निर्णय गरेका छौँ।" लगानीकर्ताहरूले बजारलाई जोगाउन कागजी कार्य योजनाभन्दा पनि तत्काल कार्यान्वयन हुने गरी 'रेस्क्यु प्लान' सार्वजनिक गर्नुपर्ने अडान राख्दै आएका छन्।
एकातिर नियामक निकाय र मध्यस्थकर्ताबीचको छलफलको तयारी र अर्कोतिर लगानीकर्ताको भौतिक अवरोधको चेतावनीका कारण धितोपत्र बोर्ड आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ भने परिस्थिति थप तनावपूर्ण बन्ने देखिएको छ।