राष्ट्र बैंकको संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जा प्रवाह गर्दा सूचीकृत संस्थाको सबलता मूल्यांकन गर्न अनिवार्य रूपमा एउटा प्रोडक्ट पेप तयार पार्नुपर्नेछ। उक्त मूल्यांकनका आधारमा उत्कृष्ट ठहरिएका कम्पनीहरूको शेयरमा विद्यमान कर्जा सीमामा थप १० प्रतिशत विन्दुसम्म ऋण थप गर्न सकिने सुविधा दिइएको छ।
कम्पनीको सबलता मूल्यांकन गर्ने आधारहरूः
बैंकहरूले कुनै पनि कम्पनीको सबलता जाँच्नका लागि कम्तीमा देहायका ६ वटा आधारहरू समावेश गरी मूल्यांकन विधि बनाउनुपर्ने निर्देशनमा उल्लेख छः
१. चुक्ता पुँजीको आकार
२. धितोपत्र बजारमा सूचीकरण भएको न्यूनतम अवधि
३. संस्था नाफामा रहेको र लाभांश वितरण गरेको इतिहास तथा समयावधि
४. संस्थाको क्रेडिट रेटिङ्ग
५. नियामकीय व्यवस्थाको पालना
६. नियमित रूपमा साधारणसभा सम्पन्न भए-नभएको अवस्था
यसरी गरिएको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने कम्पनीहरूको शेयरमा राष्ट्र बैंकले तोकेको साविकको कर्जा–मूल्य अनुपातमा बढीमा १० प्रतिशत विन्दुसम्म थप गरी कर्जा प्रवाह गर्न सकिनेछ। उदाहरणका लागि, यदि हाल कुनै कम्पनीको शेयरमा ७० प्रतिशत कर्जा पाइने व्यवस्था छ भने, सबलता मूल्यांकनमा उत्कृष्ट देखिएका कम्पनीमा बैंकले ८० प्रतिशतसम्म कर्जा दिन सक्नेछन्।