दाबी भुक्तानीको भारले नेपाल पुनर्बीमा कम्पनी घाटामा

Jul 24, 2026 09:15 AM Merolagani



नेपाल सरकारको स्वामित्व समेत रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वित्तीय अवस्था गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गम्भीर प्रभावित भएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी धेरै घाटामा पुगेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यद्यपि, गत आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा मात्रै भने कम्पनीले २ अर्ब १४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ। तर, अघिल्ला त्रैमासहरूमा परेको भारी दाबी भुक्तानीको असरका कारण ९ महिनाको समग्र नतिजा घाटामा नै रहेको हो।

कम्पनीको खुद दाबी भुक्तानी खर्चमा भएको वृद्धि नै मुख्य कारण बनेको छ। गत वर्ष ५ अर्ब १७ करोड रुपैयाँ रहेको खुद दाबी भुक्तानी खर्च समीक्षा अवधिमा ह्वात्तै बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

साथै, बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घट्दा कम्पनीको लगानीबाट हुने आम्दानी ९४ करोड २६ लाख रुपैयाँबाट घटेर ४७ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। खुद आर्जित बीमा शुल्क पनि ७ अर्ब ११ करोड रुपैयाँबाट घटेर ५ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ।

कम्पनी घाटामा गएपछि यसको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ५१ पैसा ऋणात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको इपीएस ४ रुपैयाँ ८ पैसा धनात्मक रहेको थियो।

भारी नोक्सानीका कारण कम्पनीको सञ्चित जगेडा कोष ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक बनेको छ, जसका कारण प्रतिशेयर नेटवर्थ घटेर १०९ रुपैयाँ २० पैसामा झरेको छ। कम्पनीको चुक्ता पूँजी भने १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।