शेयर बजारमा ‘एआई वासिङ’को बढ्दो आतंक, कतै तपाई पनि शिकार त बन्दै हुनुहुन्न ?

Jul 28, 2026 05:31 AM Mero lagani



जमाना कृत्रिम वौद्धिकता अर्थात एआईको छ । त्योसगै शेयर बजारमा पनि दुईवटा नयाँ शब्दको विकास भएको छ एआई वासिङ (AI Washing)    । 

र, यो शब्द अहिले शेयर बजारका दिग्गजहरुको लागि समेत टाउको दुखाईको विषय बनिरहेको छ ।
सरल भाषामा भन्नुपर्दा, जसरी कुनै कम्पनीले आफूलाई पर्यावरणमैत्री देखाउन झुटा दाबी गर्दा ग्रीन वासिङ (Green washing) भनिन्छ, त्यसरी नै कुनै कम्पनीले लगानीकर्ता र बजारलाई भ्रममा पार्ने प्रक्रियालाई एआई वासिङ (AI washing) भनिन्छ।

तीन तरिकाका AI washing

आजकाल कम्पनीहरूले लगानीकर्तालाई आकर्षित गर्न र शेयर मूल्य बढाउन मुख्यतया तीन तरिकाले (AI washing) गरिरहेका छन्:

 क) अत्यधिक बढावा दिने (Exaggeration)

सामान्य सफ्टवेयर वा नियम आधारित एल्गोरिदमलाई पनि Advanced Generative AI भनेर प्रचार गर्ने।

ख) भविष्यका योजनालाई वर्तमानको सफलता देखाउने

AI मा काम गर्दैछौ भन्ने तर हल्ला गर्ने, तर काम नगर्ने ।

ग) झूटा वा भ्रामक दाबी

कम्पनीको उत्पादनले AI को प्रयोगबाट शतप्रतिशत नतिजा दिन्छ वा नाफा दोब्बर बनाउँछ भनेर लगानीकर्तालाई सधै झुक्काउने वा झुक्याउन खोजिरहने ।

उदाहरणको लागि अमेरिकी शेयर बजार नियामक निकाय (SEC) ले सन् २०२४ मा दुई ठूला लगानी सल्लाहकार कम्पनीहरू (Delphia Inc. र Global Predictions Inc.)लाई AI को प्रयोगबारे लगानीकर्तालाई भ्रामक र झूटा दाबी गरेको फेला पारेपछि जरिवाना तिराएको थियो।

 

 

एआई वासिङले सिर्जना गरेका चुनौतीहरू

AI Washing ले समग्र शेयर बजार र लगानीकर्ताहरूका लागि गम्भीर जोखिमहरू निम्त्याइरहेको छ

लगानीकर्ताको आर्थिक नोक्सानी

साधारण लगानीकर्ताहरू ट्रेन्डको पछाडि दौडिन्छन् । कम्पनीको नाम वा प्रेस विज्ञप्तिमा AI देखेर शेयर किन्नेहरू जब कम्पनीको वास्तविक वित्तीय स्थिति कमजोर देख्छन्, तब बजार घट्दा ठूलो घाटा व्यहोर्न बाध्य हुन्छन् । यकिन तथ्याँक नभए पनि पछिल्लो डेढ, दुई वर्ष यता विश्वका धेरै देशमा AI Washing को कारण लाखौं लगानीकर्ताको विचल्ली भएको अमेरिकाको शेयर बजार नियामक निकाय  (SEC)  का पूर्व अध्यक्ष ग्यारी जेन्स्लरले केही समय अगाडि बताएका थिए ।

AI बबलको खतरा

सबै कम्पनीले AI को दाबी गर्दा बजारमा आर्टिफिसियल भ्यालुएसन सिर्जना हुन्छ। कम्पनीको वास्तविक क्षमताभन्दा शेयर मूल्य धेरै माथि पुग्छ, जसले सन् २००० को डट कम क्र्यास जस्तै AI Bubble Crash को खतरा बढाउँछ।

वास्तविक AI कम्पनीहरूलाई असर

वास्तवमै दिनरात मिहिनेत गरेर सही र क्रान्तिकारी AI प्रविधि बनाइरहेका वास्तविक टेक कम्पनीहरूले भ्रामक कम्पनीहरूकै कारण पूँजी जुटाउन गाह्रो हुने वा उनीहरूको विश्वसनीयता घट्ने जोखिम हुन्छ।

नियामक निकायहरूलाई नियमनको चुनौती

AI आफैँमा एउटा जटिल र तीव्र गतिमा बदलिरहेको प्रविधि हो । हरेक देशका सरकारहरुको लागि धितोपत्र बजारसम्वन्धि नियामक निकायहरूको लागि AI Washing को नियमन निकै चुनौतिपूर्ण बनिरहेको विश्लेषकहरुले बताएका छन् । युरोप,अमेरिका,चीन जस्ता शक्तिशाली देशका सरकारहरुलाई त त्यो नियमन चुनौतिपूर्ण बनिरहेको बेला नेपाल जस्ता साना र अविकसित देशहरुको त लागि त्यो फलामको च्यूरा चपाउनु जस्तै रहेको उनीको भनाई छ ।