सुनसरीमा गोली कसले र कसको आदेशमा चलाइयो ? घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न खुश्बु ओलीको माग

Jul 30, 2026 12:26 PM Merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गरेकी छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरिन्। सांसद ओलीले सुनसरीको घटनालाई सत्तारुढ दलहरूले दुःखद् र संवेदनशील भने पनि घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाइन् ।

बोलबम धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरूमाथि गोली प्रहार भएको, ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ घाइते भएको तथ्यलाई सरकारले स्पष्ट रूपमा स्वीकार गर्न डराएको उनको भनाइ छ । प्रधानमन्त्रीले अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जालमार्फत गोली चलेको विषयमा दिएको अभिव्यक्ति अपरिपक्व भएको उनले टिप्पणी गरिन् । उनले मोरङ जिल्ला प्रशासन कार्यालयले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रणका लागि जारी गरेको सूचनाप्रति पनि आपत्ति जनाइन् । एउटा निश्चित धर्म र पुराणलाई मात्र लक्षित गरेर ल्याइएको यस्ता सूचनाले समाजमा इगो (अहंकार) पैदा गर्ने र यसले प्रशासनिक अपरिपक्वता झल्काउने उनको तर्क छ ।

उनले भनिन्, ‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो । गोली कसले र कसको आदेशमा चलायो ? जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ ? यो गम्भीर विषय हो । संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्र रहँदा नेपाल आजको तुलनामा बढी सहिष्णु र सन्तुलित थियो । यो तथ्यलाई भावनाले मात्र होइन, गम्भीर बहस र प्रमाणका आधारमा समीक्षा गरिनुपर्छ ।’

सांसद ओलीले नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेयता धार्मिक द्वन्द्व र असहिष्णुता बढेको दाबी गरिन् । वाह्य स्रोतको लगानीमा भइरहेको धर्मान्तरण र रोहिंग्या तथा पाकिस्तानी शरणार्थीहरूको अनियन्त्रित प्रवेशले मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती थपेको उल्लेख गरिन् । सुरक्षा निकायका उच्च अधिकारीहरूले समेत यस विषयमा चिन्ता व्यक्त गरिसकेकाले सरकारले यस्ता संवेदनशील मुद्दामा ध्यान दिनुपर्ने उनको माग छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।