विभागले नवीकरणपछि नयाँ व्यवस्थाअनुसार १० वर्षको लागि लाइसेन्स उपलब्ध गराउने भएको छ।
‘म्याद सकिन १ वर्षभन्दा कम अवधि भएका लाइसेन्सहरू अहिले छपाइ भइरहेका छैनन्। त्यसैले चालकहरूले नवीकरण गरेर १० वर्षको अवधिको लाइसेन्स लिनु उपयुक्त हुन्छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ।
यसैबीच, विभागले विगत ४ वर्षदेखि रोकिएको लाइसेन्स छपाइको काम सम्पन्न भएको जनाएको छ। गत असारसम्मका सबै पुराना आवेदनहरूको लाइसेन्स छापिएको र साउन ७ सम्म २७ लाख ४७ हजार भन्दा बढी लाइसेन्स वितरणका लागि विभिन्न यातायात कार्यालयहरूमा पठाइएको विभागको भनाइ छ। सुरक्षण मुद्रण केन्द्रसँगको नयाँ सम्झौतापछि लाइसेन्स छपाइ प्रक्रियाले गति लिएको हो।