निर्जीवन बीमामा बागमतीको एकाधिकार: ६९ प्रतिशत व्यापार एउटै प्रदेशमा, कर्णाली र सुदूरपश्चिम ओझेलमा

Jul 31, 2026 10:48 AM Merolagani



देश संघीय संरचनामा गएर अधिकार र स्रोतको विकेद्रीकरण गर्ने प्रयास भएपनि निर्जीवन बीमाको पहुँच भने अझै पनि एउटै प्रदेशमा सीमित रहेको पाइएको छ। देशका प्रमुख आर्थिक गतिविधि, ठूला उद्योग र बैंकिङ पहुँच काठमाडौँ उपत्यकासहितको बागमती प्रदेशमै केन्द्रित हुँदा निर्जीवन बीमाको लगभग दुई तिहाइभन्दा बढी व्यापार बागमतीमै सीमित भएको हो।

नेपाल बीमा प्राधिकरणको पछिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरूले देशभरबाट संकलन गरेको कुल ५१ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्कमा बागमती प्रदेशको योगदान मात्रै ३५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। यो कुल बीमाशुल्कको ६८.९७ प्रतिशत हिस्सा हो। त्यसैगरी देशभर जारी भएका कुल ३४ लाख ६७ हजारभन्दा बढी बीमालेख मध्ये १५ लाख ३८ हजारभन्दा बढी अर्थात् ४४.३७ प्रतिशत बीमालेख बागमती प्रदेशमै जारी भएका छन्। यो तथ्यांकले निर्जीवन बीमाको बजार मुख्य शहर र केन्द्रमा मात्रै घुमिरहेको पुष्टि गर्छ।

 

यसको ठीक विपरीत विकट मानिएका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बीमाको पहुँच अत्यन्तै दयनीय अवस्थामा छ। भूराजनीतिक र भौगोलिक हिसाबले ठूलो मानिने कर्णाली प्रदेशले कुल बजारको १ प्रतिशत हिस्सा पनि ओगट्न सकेको छैन। कर्णालीबाट वर्षभरिमा जम्मा ५० करोड ४१ लाख रुपैयाँ अर्थात् ०.९७ प्रतिशत मात्रै बीमाशुल्क संकलन भएको छ भने त्यहाँ जारी भएका बीमालेखको संख्या १.८० प्रतिशत अर्थात् ६२ हजार ५०७ मा सीमित छ। अर्कोतर्फ सुदूरपश्चिम प्रदेशको अवस्था पनि उस्तै छ, जहाँबाट वर्षभरिमा जम्मा १ अर्ब २४ करोड रुपैयाँ अर्थात् २.४० प्रतिशत मात्रै बीमाशुल्क संकलन भएको देखिन्छ।

अन्य प्रदेशहरूको स्थिति हेर्दा लुम्बिनी प्रदेशले ४ अर्ब २५ करोड रुपैयाँ र कोशी प्रदेशले ४ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो र तेस्रो स्थान ओगटेका छन्। मधेश प्रदेशबाट ३ अर्ब २६ करोड र गण्डकी प्रदेशबाट २ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

निर्जीवन बीमा व्यवसाय मुख्य गरी ठूला उद्योगधन्दा, आयात-निर्यात व्यापार, सवारी साधन र बैंक तथा वित्तीय संस्थाको कर्जासँग जोडिने भएकाले जहाँ आर्थिक गतिविधि बढी हुन्छ, त्यहीँ बीमाको व्यापार फस्टाउने गर्छ। बागमती प्रदेशमा ठूला कर्पोरेट हाउस, केन्द्रीय बैंक, व्यापारिक प्रतिष्ठान र उच्च सवारी साधनको चाप रहेकाले बीमकहरूको रोजाइ पनि यहीँ पर्न गएको छ। तर कर्णाली र सुदूरपश्चिमजस्ता क्षेत्रमा पूर्वाधारको अभाव, कृषिमा आधारित जीवनशैली र बैंक तथा वित्तीय संस्थाको कमजोर उपस्थितिका कारण बीमा कम्पनीहरूले आफ्ना संरचना फैलाउन नसकेका हुन्।

 

प्रादेशिक असन्तुलनले गर्दा विपद् वा दुर्घटनाको जोखिममा रहेका दुरदराजका नागरिक बीमाको सुरक्षा छाताभन्दा बाहिरै रहन बाध्य छन्। नियामक निकायले प्रादेशिक रूपमा बीमाको दायरा बढाउने नीतिगत पहल गरे पनि निजी क्षेत्रका बीमकहरू नाफामूलक र सुरक्षित सहरी बजारमै अलमलिँदा बीमाको पहुँच सर्वव्यापी हुन नसकेको स्पष्ट हुन्छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।