राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै एक सूचना जारी गर्दै सबै अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक (PSP)हरूलाई यस कार्यक्रममा सहजीकरण गर्न निर्देशन दिएको हो। विद्युतीय प्रणालीमार्फत कर तिर्ने करदाताहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यस कार्यक्रमलाई सफल बनाउन राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूका लागि देहाय बमोजिमका कार्यहरू गर्न अनिवार्य गरेको छ।
१. एपमा 'FAQ' खण्ड थप्नुपर्ने: सबै भुक्तानी सेवा प्रदायकहरूले आफ्नो मोबाइल एपमा 'करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३' सँग सम्बन्धित र ग्राहकले बारम्बार सोध्न सक्ने प्रश्नहरू (FAQ) को छुट्टै खण्ड समावेश गर्नुपर्नेछ।
२. सूचना र नोटिफिकेसन: साउन २१ गतेदेखि सञ्चालनमा आउने यस कार्यक्रमको पूर्वजानकारी दिनका लागि साउन १६ गतेदेखि नै मोबाइल एपमार्फत ग्राहकहरूलाई 'नोटिफिकेसन' पठाउन निर्देशन दिइएको छ।
३. एप अपडेटको जानकारी: यदि यो कार्यक्रममा सहभागी हुनका लागि ग्राहकले आफ्नो मोबाइल एप अपडेट गर्नुपर्ने अवस्था छ भने, सो सम्बन्धी जानकारी पनि नोटिफिकेसनमार्फत नै ग्राहकलाई गराउनु पर्नेछ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीद्वारा हस्ताक्षरित सो पत्रमा सरकारको यस प्रोत्साहन कार्यक्रमलाई विद्युतीय प्रणालीमा अन्तरआबद्धता स्थापित गर्न र थप प्रभावकारी बनाउन यस्तो कदम चालिएको उल्लेख छ।
यो व्यवस्थासँगै अब डिजिटल वालेट वा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले कर तिर्दा सरकारले तोकेको उपहार कार्यक्रममा सजिलै सहभागी हुन पाउने र यसबारे स्पष्ट जानकारी पनि एपभित्रै प्राप्त गर्ने अपेक्षा गरिएको छ।