एसोसिएसनका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपाल एक बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुक हो र यहाँको सामाजिक एकता र सद्भाव नै सबैभन्दा ठूलो शक्ति हो। संविधानले शान्तिपूर्ण रूपमा आफ्ना मागहरू राख्ने अधिकार दिएको भए तापनि कुनै पनि प्रकारको हिंसात्मक गतिविधि, तोडफोड र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य स्वीकार्य हुन नसक्ने नाडाले स्पष्ट पारेको छ।
अर्थतन्त्रमा प्रतिकूल प्रभावको चिन्ता
नाडाले यस्ता अशोभनीय घटनाले केवल शान्ति सुरक्षामा मात्र नभई आम नागरिकको दैनिक जनजीवन, उद्योग-व्यवसाय, वैदेशिक तथा आन्तरिक लगानी र समग्र राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक असर पुर्याइरहेको बताएको छ। विशेष गरी व्यावसायिक क्षेत्रमा यसले ठूलो चिन्ता पैदा गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकार र सरोकारवालासँग अपिल
विज्ञप्ति मार्फत नाडाले सम्पूर्ण सम्बन्धित पक्षहरूलाई संयमता अपनाउन र कानुनी तथा लोकतान्त्रिक प्रक्रियाबाट संवादका माध्यमले समस्याको समाधान खोज्न आग्रह गरेको छ। साथै, नेपाल सरकार र सम्बन्धित निकायहरूलाई शान्ति सुरक्षाको प्रत्याभूति गर्न, नागरिकको जिउधनको संरक्षण गर्न र बिग्रिएको व्यावसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न समेत अनुरोध गरेको छ।
अन्त्यमा, नाडाले सम्पूर्ण नेपाली नागरिकहरूलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी सम्मान कायम राख्दै सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ। एसोसिएसनका महासचिव मिलनबाबु मल्लले उक्त धारणालाई सञ्चारमाध्यम मार्फत व्यापक प्रचार-प्रसार गरिदिन समेत अनुरोध गरेका छन्।