कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’

Jul 31, 2026 03:08 PM Merolagani



नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुन आग्रह गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले संसद चलिरहेको समयमा मुलुकमा उत्पन्न विषयहरुमा प्रधानमन्त्रीले संसदमार्फत नागरिकलाई सम्बोधन गर्न नचाहाँदा गम्भीर आशंका उत्पन्न भएको बताए । उनले किन प्रधानमन्त्रीजी पर्दाभित्रबाट देशको शासन चलाउन चाहानुहुन्छ ? उहाँलाई के गाह्रो भयो ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्रीले पारदर्शी र उत्तरदायी भएर काम किन कठिनाई भइरहेको छ भन्ने कुरा भन्न सक्नुपर्ने बताए । उनले सरकारलाई मुलुक र जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने कुरामा आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा उठिरहेका प्रश्नहरुको जवाफ किन संसदमा आएर दिन सकिरहनुभएको छैन ? आफूले जनतालाई सम्बोधन गर्ने कुरा, संसद चलिरहेको समयमा संसदबाट दिन नचाहाँदा एउटा गम्भीर आशंका उत्पन्न हुन्छ । अहिले मार्केटमा त्यस्तै आशंका उत्पन्न भएको छ । यो सबैतिर चलिरहेको छ । किन प्रधानमन्त्रीजी पर्दाभित्रबाट देशको शासन चलाउन चाहानुहुन्छ ? उहाँलाई के गाह्रो भयो ? पर्दाबाहिर आएर खुला भए, पारदर्शी र उत्तरदायी भएर काम गर्न उहाँलाई के कठिनाई भएको छ ? उहाँले त्यो कुरा भन्न सक्नुपर्छ । हामी सहयोग गर्न तयार छौँ । तर पर्दाभित्रबाट शासन चलाउने कुरा लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धती र संविधानको प्रबन्धभन्दा परतिर जान्छ । यसले मुलुकलाई अत्यन्तै दुर्घटनातर्फ धकेल्छ । त्यसैले मेरो आग्रह छ सरकारसँग, प्रधानमन्त्री र मन्त्रीजीहरु संसदप्रति पूर्ण उत्तरदायी हुनुस्, जनताका प्रश्नहरुको जवाफ दिनुहोस् । संसदमा उठेका प्रश्न त जनताका प्रश्न हुन् । कुनै गलत मनसायको प्रश्न उठेको छ भने पनि तपाईहरुले प्रष्ट पार्न सक्नुहुन्छ । सही प्रश्न उठेको छ भने त्यसलाई सुझावको रुपमा ग्रहण गर्न सक्नुहुन्छ ।’

सिटौलाले सरकार मुलुकमा अन्य दुई वटा सरकार छन् भन्ने कुराको समेत हेक्का राख्नुपर्ने बताए । उनले मधेशमा उत्पन्न तनावको समस्या गर्न मधेस प्रदेश सरकारसँग संघ सरकारले आवश्यक समन्वय गर्न नसकेको बताए ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।