इप्पानले एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीहरूलाई शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न हार्दिक अपिल गरेको हो।
ऊर्जा क्षेत्रमा प्रत्यक्ष असर
इप्पानले जलविद्युत आयोजनाहरू मुलुकको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्दै निजी क्षेत्रले देशका हिमाल, पहाड र तराईका विभिन्न भू–भागमा स्थानीय समुदायसँगको सहकार्यमा आयोजनाहरू निर्माण गरिरहेको जनाएको छ। सामाजिक अशान्ति, हिंसा, तोडफोड र बन्द जस्ता गतिविधिले निर्माणाधीन आयोजनाहरूमा प्रत्यक्ष असर पार्ने इप्पानको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, ‘अशान्तिको वातावरणले लगानीकर्ताको मनोबल कमजोर बनाउने मात्र नभई, उत्पादन लागत वृद्धि गर्ने र निर्माण अवधि लम्ब्याएर समग्र आर्थिक गतिविधिलाई नै नकारात्मक प्रभाव पार्नेछ।’
लगानी सुरक्षाको माग
इप्पानले कुनै पनि आयोजना सफल हुनका लागि शान्ति, सामाजिक सद्भाव र सुरक्षित लगानीको वातावरण अपरिहार्य हुने स्पष्ट पारेको छ। हालको आर्थिक अवस्थामा निजी तथा सार्वजनिक लगानी विस्तार गर्नु आवश्यक रहेको भन्दै संस्थाले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई विद्युत आयोजना तथा औद्योगिक पूर्वाधारको सुरक्षामा प्रभावकारी व्यवस्था गर्न अनुरोध गरेको छ।
संवादबाट समाधान खोज्न आग्रह
नेपालको विविधतापूर्ण समाजमा रहेका असहमति वा विवादलाई संवाद, वार्ता र संवैधानिक प्रक्रियाबाट समाधान गर्नु नै लोकतान्त्रिक समाजको उत्तम अभ्यास हुने इप्पानको विश्वास छ। संस्थाले नागरिक समाज, निजी क्षेत्र, स्थानीय समुदाय र सरोकारवाला निकायहरूबीच सहकार्य र सकारात्मक जनचेतना फैलाउँदै राष्ट्रिय एकता र विकासको अभियानलाई सशक्त बनाउन आह्वान गरेको छ।
अध्यक्ष मोहन कुमार डाँगीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा शान्तिपूर्ण र सद्भावपूर्ण वातावरणले मात्र ऊर्जा विकास र दिगो आर्थिक समृद्धिको आधार तय गर्ने उल्लेख गरिएको छ।