विभाजनको सँघारमा पुगेको नेपाली काँग्रेसलाई 'जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय भेला हुने

Aug 02, 2026 12:53 PM Merolagani



नेपाली काँग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गरेका छन् ।

आईतवार काठमाडौंमा देश र काँग्रेस जोड्ने अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए । पार्टी विभाजनको सँघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै नेता महरले पार्टीलाई एकजुट बनाउन दबाबमूलक कार्यक्रम शुरु गरिएको बताए । देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफैँभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । नेता महरले सुनसरीबाट शुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे । हिंसामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शिघ्र उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

नेता महरकाअनुसार साउन २० गते सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि राष्ट्रिय भेला हुनेछ । उक्त भेलामा देशभरका ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधि एवं विभिन्न प्रबुद्ध वर्गसहित करिब दुई हजार जनाको सहभागिता रहने बताइएको छ । अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई काँग्रेसलाई जनतासँग जोड्नु रहेको उनले प्रस्ट पारे। पार्टीको १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति र सदस्यता छानबिन समिति जस्ता महत्वपूर्ण निकायहरूमा सबै समूहको सर्वसम्मत प्रतिनिधित्व हुनुपर्ने माग अभियानले अघि सारेको छ । नेता महरले पार्टी सभापति र पदाधिकारीहरूलाई व्यक्तिगत अहं (इगो) त्यागेर पार्टी मिलाउन आग्रह गरे। उनले पार्टीलाई जीवन्त राख्न आफूहरू केन्द्रिय सदस्यको पद त्याग गर्न समेत तयार रहेको बताए।

उनले भने, ‘राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रश्तुत हुन नसकेको सन्दर्भलाई आत्मसात् गर्दै हामीले ‘देश र काँग्रेस जोड्ने अभियान’ शुरु गरेका छौँ । हामी विश्वास गर्छौं कि विश्वासिलो र एकतावद्ध नेपाली कांग्रेसले मात्रै जनताको विश्वास पुनः जित्न सक्छ, लोकतन्त्रको प्रभावकारी रक्षा गर्नसक्छ र देशलाई सही राजनीतिक दिशामा अगाडि बढाउन सक्छ । यही नै हाम्रो अभियानको मूल उद्देश्य हो । यसै उद्देश्यका साथ २०८३ साल साउन २० गते बिहान ११ बजे हामी गहन संवाद गर्दैछौँ । यस राष्ट्रिय भेलामा देशभरका ७ सय ५३ वटै पालिका, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न प्रबुद्ध व्यक्तित्व, नागरिक समाज र नेपाली काँग्रेसको हित चाहने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । करिव दुई हजार जनाको उपस्थितिमा यो राष्ट्रिय भेला आयोजना हुँदैछ । मैले भनेझैँ, यस भेलाको उद्देश्य कसैप्रति पूर्वाग्रही हुनु होइन, देश र काँग्रेसलाई जोड्नु हो । देशभित्र साम्प्रदायिकता लगायत विभिन्न समस्या उत्पन्न गराउने उद्देश्यले देशी तथा विदेशी शक्तिहरूको चलखेल भइरहेको हाम्रो बुझाइ छ । यस्ता चुनौतीप्रति सचेत रहँदै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता र नेपाली काँग्रेसको सुदृढीकरणका लागि यो अभियान अघि बढाइएको हो ।’

पत्रकार सम्मेलनमा नेता रञ्जित कर्ण लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । अभियानले साउन २० को भेलापश्चात देशभर हस्ताक्षर संकलन र अन्य दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । ‘कांँग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने संकल्पका साथ यो अभियान अघि बढाइएको नेता महरले बताए ।




प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

Jul 29, 2026 05:40 PM

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् ।