खाना पकाउने ग्यासको चरम अभाव,पूरा तौलको सिलिन्डर बजारमा पठाउन थालिएसँगै आपूर्ति प्रणाली बिग्रियाे

Aug 02, 2026 05:18 PM Merolagani



पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको छ। 

नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गरिरहँदा उपभोक्ताहरू भने एक थान भरिएको सिलिन्डरका लागि दिनभर काम छाडेर लाइन लाग्न बाध्य भएका छन्। टोल-टोलमा रहेका ग्यास डिपोहरू रित्तिएपछि उपभोक्ताहरू अहिले सिधै ग्यास उद्योगका गेट र वितरण केन्द्रहरूमा पुगेर घण्टौँसम्म पालो पर्खिरहेका छन्।

आधाबाट पूरा तौलमा जाँदा समस्या

बजारमा ग्यासको अभाव चर्किएपछि गत २०८२ फागुन अन्तिम सातादेखि आयल निगमले उपभोक्तालाई राहत दिन भन्दै आधा भरिएको (७.१ किलो) को सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था मिलाएको थियो। तर, अवस्था बिस्तारै सहज भएको भन्दै निगमले गत असार ३१ गतेदेखि लागू हुने गरी पुनः पूरा तौल (१४.२ किलो) को सिलिन्डर बिक्री गर्न सबै ग्यास उद्योगीहरूलाई निर्देशन दियो।

पूरा तौलको सिलिन्डर बजारमा पठाउन थालिएसँगै आपूर्ति प्रणालीमा एकाएक सन्तुलन बिग्रिएको छ। उपभोक्ताहरूका अनुसार आधा सिलिन्डरबाट पूरा सिलिन्डरमा परिवर्तन हुने संक्रमणकालीन समयमा डिपोहरूमा ग्यास आउन छाडेको छ। यही अन्योलका बीच सर्वसाधारणले घरमा भएको खाली सिलिन्डर साट्न नपाउँदा भान्सा नै बन्द हुने अवस्था आएको गुनासो गरेका छन्।

उद्योगमै सयौँको लाइन

टोलका डिलर र डिपोहरूले "ग्यास छैन" भन्दै रित्तो हात फर्काउन थालेपछि उपभोक्ताहरू अहिले विकल्प खोज्दै सिधै उद्योगका मुख्य कार्यालय र प्लान्टसम्म पुग्न थालेका छन्। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको गेट बाहिरको दृश्यले वर्तमान संकटको भयावह रूप चित्रण गर्छ। त्यहाँ बिहानैदेखि सयौँ सर्वसाधारण आफ्नो रित्तो सिलिन्डर लिएर लामो लाइनमा बसेका देखिन्छन्। मोटरसाइकल, ट्याक्सी र कतिपयले त साइकलमा सिलिन्डर बाँधेर ग्यास खोज्दै हिँडेको दृश्य अहिले काठमाडौँका सडकमा सामान्य जस्तै बनेको छ।

निगमको दाबी र टेकुको प्रयास

नेपाल आयल निगमले भने अन्तर्राष्ट्रिय बजारबाट ग्यासको आयातमा कुनै कमी नआएको र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पूर्ण क्षमतामा ग्यास प्राप्त भइरहेको दाबी गरेको छ। निगमका अधिकारीहरूका अनुसार बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्छ।

उपभोक्ताको बढ्दो दबाबलाई ध्यानमा राख्दै निगमले हिजो शनिबारदेखि काठमाडौँको टेकुस्थित आफ्नो पुरानो कार्यालयबाट प्रत्यक्ष ग्यास बिक्रीको व्यवस्था मिलाएको छ। त्यहाँ नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ। तर, टेकुमा पनि अवस्था उस्तै छ। त्यहाँ पनि बिहानैदेखि हजारौँको सङ्ख्यामा उपभोक्ता लाइन लागेका छन् भने धेरैले घण्टौँ कुर्दा पनि ग्यास नपाएको गुनासो गरेका छन्।

कृत्रिम अभावको आशङ्का र अनुगमनको माग

उपभोक्ता अधिकारकर्मीहरूले भने बजारमा 'कृत्रिम अभाव' सिर्जना गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। जब-जब ग्यासको तौल वा मूल्यमा परिवर्तन हुन्छ, तब-तब केही सीमित व्यापारी र बिचौलियाहरूले स्टक लुकाउने गरेको आरोप उनीहरूको छ। उपभोक्ताहरूले सरकार र सरोकारवाला निकायलाई तत्काल बजार अनुगमन कडा बनाउन माग गरेका छन्। डिपोहरूले ग्यास लुकाएका छन् कि छैनन् र उद्योगबाट निस्किएको ग्यास कहाँ गइरहेको छ भन्नेबारे सुक्ष्म अनुसन्धान हुनुपर्ने उनीहरूको भनाइ छ।

आयल निगमले बजारमा ग्यास अभाव नरहेको भन्दै सर्वसाधारणलाई नआत्तिन र थुपारेर नराख्न आग्रह गरिरहेको छ। तर, जबसम्म टोलका डिपोहरूमा सहजै ग्यास उपलब्ध हुँदैन, तबसम्म सर्वसाधारणको उद्योग र टेकुका केन्द्रहरूमा लाग्ने लामो लाइन कम हुने देखिँदैन। एकातिर वर्षातको समय र अर्कोतिर इन्धनको यस्तो समस्याले सर्वसाधारणको दैनिक जीवन निकै कष्टकर बनेको छ। सरकारले केवल आश्वासन मात्र दिने भन्दा पनि ठोस आपूर्ति व्यवस्थापनमा ध्यान दिनु जरुरी देखिन्छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।