बजारमा आएको यो प्रवृतिगत परिवर्तनले नेपाली शेयर बजार परिपक्वतातर्फ उन्मुख हुन थालेको लगानीकर्ताहरुको बुझाई छ। विशेषगरी चालू आर्थिक वर्षको सुरुवातसँगै बजारमा सकारात्मक सञ्चार प्रवाह भएको छ। गत आर्थिक वर्षको अन्तिम कारोबार दिन २५७७.२४ विन्दुबाट कारोबार सुरु भएको नेप्से सूचक चालू आर्थिक वर्षको साउन १८ गतेसम्म आइपुग्दा २६८४.३३ विन्दुमा पुगेको छ। यसरी ११ कारोबार दिनमै बजार १०७.०९ अंक अर्थात ४.१६ प्रतिशतले बढेको हो ।

लामो समयदेखि सुस्त रहेको बैंकिङ क्षेत्रमा अहिले लगानीकर्ताको आकर्षण देखिन्छ। कारोबारमा रहेका १२ उपसमूहहरूमध्ये १० वटामा सुधार आउँदा बैंकिङ क्षेत्र सर्वाधिक बढेको हो । यसअवधिमा बैंक सेक्टर सबैभन्दा बढी ६.७० प्रतिशतले बढेको छ। यसरी नेप्सेमा ठूलो हिस्सा रहेको बैंक र बलिया कम्पनी तर्फ लगानीकर्ताको रुची बढदा बजार परिपक्क हुन सुरु भएको संकेत लगानीकर्ताहरुले गर्न थालेका छन् । लगानीकर्ताहरूले सस्तो बजार मूल्य रहेको र लाभांश क्षमता राम्रो भएका वाणिज्य बैंकहरूलाई आफ्नो पोर्टफोलियोमा थप्न रुचाएका हुन।
बैंकहरूको प्रतिफल क्षमता र न्यून जोखिम नै अहिलेको आकर्षणको मुख्य कारण रहेको लगानीकर्ता ललित ढुङ्गानाले बताए । “अहिले बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने समय हो। धेरैजसो बैंकहरूको १० देखि १५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आंकलन गरिएको छ । 'बैंकको शेयर मूल्य बढ्दा नेप्से सूचकमा पनि स्थिरता आउने र जोखिम कम हुने भएकाले लगानीकर्ताहरू बैंकतर्फ मोडिएका हुन्,' ढुङ्गानाले मेरोलगानीसँग भने । यसका साथै हाइड्रोपावर क्षेत्र पनि लगानीकर्ताको सदावहार रोजाईमा परिरहेको छ। जसले ४.५७ प्रतिशतको सुधार दर्ता गरेको छ।
त्यसैगरी, बजारमा १० वटा उपसमूहको सूचक सकारात्मक रहँदा उत्पादन तथा प्रशोधन र लगानी क्षेत्रमा भने केही गिरावट देखिएको छ। उत्पादन तथा प्रशोधन क्षेत्र सवार्धिक ४.३१ प्रतिशतले घटेकाे छ भने लगानी क्षेत्रमा ०.३४ प्रतिशतको सामान्य गिरावट भएकाे छ । लगानीकर्ताले अहिले ग्रोथ भन्दा पनि भ्यालु र स्टेबिलिटी खोजिरहेका छन् । विकास बैंक समूह ४.७४ प्रतिशत, फाइनान्स २.५४ प्रतिशत, र व्यापारिक क्षेत्र २.३६ प्रतिशतले बढेका छन्। अन्य, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहमा पनि क्रमिक सुधार देखिएको छ। यसले समग्र बजार नै विस्तारै लयमा फर्किदैछ भन्ने कुराको संकेत गरेको छ।
बजारको यो बढोत्तरीमा नेपाल राष्ट्र बैंकको लचक नीतिको ठूलो हात छ। राष्ट्र बैंकले शेयर धितो कर्जा (मार्जिन प्रकृति) मा धितो मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण पाइने व्यवस्था गरेपछि लगानीकर्तालाई थप राहत पुगेको छ। नेप्सेले प्रकाशन गर्ने पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ। त्यसको ८० प्रतिशतसम्म कर्जा प्रवाह हुने व्यवस्थाले विशेष गरी सस्तो र बलिया शेयरमा लगानी गर्ने वातावरण सिर्जना गरेको छ। ब्याजदर न्यून विन्दुमा हुनुले पनि लगानीकर्तालाई शेयर बजारमा पुँजी परिचालन गर्न सहज बनाएको छ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बजारलाई आधुनिकीकरण गर्ने उद्देश्यले सर्ट सेलिङ र इन्ट्रा–डे कारोबार सम्बन्धी अवधारणापत्र तयार पारेको छ। हालको नगदमा आधारित कारोबार प्रणालीलाई विविधीकरण गर्दै मार्जिन कारोबार, धितोपत्र सापटी र कभर्ड सर्ट सेलिङ जस्ता नयाँ उपकरणहरू ल्याउने तयारीमा नेपाल धितोपत्र बोर्ड रहेको छ । यसले दोस्रो बजारका लगानीकर्तामा हौसला प्रदान गरेको बताउने गरेका छन् ।
यस सर्ट सेलिङको व्यवस्थाले शेयर मूल्य घट्दा पनि नाफा कमाउने अवसर प्रदान गर्दछ। यद्यपि, बोर्डले हातमा शेयर नभई बेच्ने प्रक्रियालाई निषेध गर्दै सुरक्षित र व्यवस्थित तीनवटा चरणमा यी व्यवस्था लागू गर्ने योजना बनाएको छ। यी नयाँ व्यवस्था लागू भएपछि बजारमा तरलता बढ्ने र कारोबार उच्च बजार पुँजीकरण भएका ठूला कम्पनीहरूमा केन्द्रित हुने निश्चित छ। किनकि सर्ट सेलिङ र इन्ट्रा–डे कारोबार सबै कम्पनीमा गर्न पाइँदैन। यसका लागि पर्याप्त तरलता र संस्थागत लगानीकर्ताको सहभागिता भएका कम्पनीहरू मात्र योग्य हुने लगानीकर्ताहरुको बुझाई छ ।
अहिलेको बजार सुधारका लागि सरकार, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको सक्रियता प्रशंसनीय छ। लगानीकर्ताहरूका अनुसार बजारमा इन्ट्रा–डे र सर्ट सेलिङ पूर्ण रूपमा कार्यान्वयनमा आउनुअघि संस्थागत लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको ढुङ्गानाको बुझाई छ। जब बजारमा संस्थागत लगानीकर्ताको प्रभाव बढ्छ, तब साना सट्टेबाजहरूको चलखेल कम भई बजारमा स्थिरता आउने उनको विश्वास छ।
विस्तारै शेयर बजारमा ठूला कम्पनीहरूको वित्तीय स्वास्थ्य, लाभांशको सुनिश्चितता र नियामक निकायको आधुनिक सोचले बजारलाई नयाँ उचाइतर्फ डोर्याइरहेको छ। कम आपूर्ति भएका साना कम्पनीबाट ठूला र तरल कम्पनीतर्फ लगानी मोडिनुले भविष्यमा बजार अझ बढी सुरक्षित र व्यावसायिक बन्ने अपेक्षा गरिएको छ।