एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा उच्च बढ्यो, वितरणयोग्य मुनाफा पनि ऋणात्मकबाट धनात्मक

Aug 04, 2026 12:53 PM Merolagani



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खराब कर्जा व्यवस्थापन, लाभांश क्षमता र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा जम्मा १३ लाख ५१ हजार रुपैयाँ मात्र रहेकोमा गत आर्थिक वर्ष बढेर ३० करोड ९४ लाख रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ५६ करोड ५५ लाख रुपैयाँबाट १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

बैंकको अघिल्लो आर्थिक वर्ष १७ करोड २६ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) रहेकोमा गत आर्थिक वर्ष कर्जा असुलीमा सुधार भई १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक भएको छ, जसले नाफा उकास्न मुख्य योगदान पुर्‍याएको छ।

बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष ऋणात्मक स्थितिमा रहेको बैंकको वितरणयोग्य नाफा गत आर्थिक वर्ष धनात्मक भई लाभांश दिन सक्ने बलियो स्थितिमा पुगेको छ। नियमनकारी समायोजन र अघिल्लो आर्थिक वर्षको सञ्चित घाटा समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १७ करोड ९७ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजीका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३८ पैसा कायम भएको छ, जसले शेयरधनीहरूका लागि आकर्षक लाभांशको बाटो खोलेको छ।

बैंकको कुल सम्पत्तिको आकार २१ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। बैंकको चुक्ता पूँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको छ भने कुल जगेडा कोष, सञ्चित नाफा, शेयर प्रिमियम र अन्य जगेडा कोष गरी कुल कोष ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ।

ग्राहकहरूबाट सङ्कलित निक्षेप १६ अर्ब ४९ करोड रुपैयाँबाट १२.६३ प्रतिशतले बढेर १८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १२ अर्ब ११ करोड रुपैयाँबाट ८.८२ प्रतिशतले बढेर १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति समीक्षा अवधिमा १८ अर्ब ९८ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।