याे महिनादेखि बढेकाे तलब पाइने, कति पुग्याे त ?

Aug 06, 2026 12:09 PM Merolagani



अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ का लागि साउन १ गतेदेखि नै लागू हुने गरी कर्मचारीहरूको नयाँ तलबमान र भत्ताको विस्तृत विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घोषणा गरेको १० प्रतिशत तलब वृद्धि र थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयलाई साउन ६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै मन्त्रालयले बुधबार सबै सरकारी निकायहरूलाई नयाँ तलबमान कार्यान्वयन गर्न पत्राचार गरेको हो। यो नयाँ व्यवस्थाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षकका साथै प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूले वृद्धि भएको तलबका साथै मासिक प्रोत्साहन भत्ता समेत प्राप्त गर्नेछन्।

नयाँ तलबमान अनुसार अब मुख्य सचिवको सुरुवाती मासिक तलब ८४ हजार ९३२ रुपैयाँ पुगेको छ भने राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको ७९ हजार २९० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को ६२ हजार ४६६, द्वितीय श्रेणी (उपसचिव) को ५३ हजार ६११ र तृतीय श्रेणी (शाखा अधिकृत) को तलब ४८ हजार ५८ रुपैयाँ तोकिएको छ। निवृत्तभरण (पेन्सन) प्रयोजनका लागि समेत छुट्टै दररेट निर्धारण गरिएको छ, जसमा अतिरिक्त सचिवका लागि ६६ हजार ५३९ र राजपत्र अनङ्कित प्रथम अतिरिक्त मानका लागि ४१ हजार ५१७ रुपैयाँ तोकिएको छ।

राजपत्र अनङ्कित तर्फका कर्मचारीहरूको हकमा प्रथम श्रेणी (नायब सुब्बा) को ३८ हजार २०३, द्वितीय श्रेणी (खरिदार) को ३६ हजार १९२, तृतीय श्रेणीको ३० हजार ३७३ र चतुर्थ श्रेणीको २८ हजार ६९० रुपैयाँ तलब कायम गरिएको छ। नयाँ तलब संरचनामा कर्मचारीहरूले तलब वृद्धिका अतिरिक्त एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि भएपछि कायम हुने कुल तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत पाउनेछन्। अर्थ मन्त्रालयले अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमानको विवरण सार्वजनिक गर्दै सोही अनुसारको भुक्तानी मिलाउन देशभरका सरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।