सहकारीको अनुदान हिनामिना गर्ने मेयर सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Aug 07, 2026 01:08 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

नगरपालिकाबाट आठबीसकोट दुग्ध सहकारी संस्थालाई प्रदान गरिएको अनुदान रकममा व्यापक अनियमितता भएको र सरकारी सम्पत्तिको व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको पुष्टि भएपछि आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आठबीसकोट नगरपालिका वडा नम्बर ९ मा रहेको उक्त दुग्ध सहकारीलाई चिस्यान केन्द्र निर्माणका लागि ९१ लाख १७ हजार ८७३ रुपैयाँ र गाडी खरिदका लागि ८० लाख २३ हजार ५१ रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो। तर, अनुदान लिएको दुई वर्ष बितिसक्दा पनि सहकारी सञ्चालनमा नआएको र सरकारी गाडीहरू व्यक्तिगत काममा प्रयोग गरी प्रयोगविहीन अवस्थामा राखिएको अनुसन्धानबाट खुलेको छ। कार्यविधि विपरीत र योग्यता नै नपुगेको संस्थालाई बदनियतपूर्वक सरकारी रकम निकासा गराएको अभियोगमा मेयर केसीसहितका पदाधिकारी र कर्मचारीहरूमाथि मुद्दा चलाइएको हो।

यस प्रकरणमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालयका तत्कालीन निमित्त प्रमुखहरू सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेर बहादुर खड्का, लेखा अधिकृत यम बहादुर पुन र कृषि अधिकृत मीन बहादुर केसीलाई प्रतिवादी बनाइएको छ। उनीहरूले फिल्डको वस्तुनिष्ठ मूल्याङ्कन नगरी गलत प्रतिवेदन तयार पारेर सरकारी कोषको दुरुपयोगमा सहयोग पुर्याएको अख्तियारको ठहर छ।

यसैगरी, सरकारी अनुदानको हिनामिना र दुरुपयोग गरेको अभियोगमा आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीर बहादुर रोकाया, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुन कुमारी चनेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ। अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल उपर गर्न, जरिवाना गर्न र कैद सजायको मागदाबी गरेको छ। प्रवक्ता सुरेश न्यौपानेका अनुसार राज्यलाई ठुलो धनराशि हानि नोक्सानी पुर्याएको भन्दै सबै प्रतिवादीहरूमाथि कडा कारबाहीको माग गरिएको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।