शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवाद कार्यक्रममा उनले पुराना ब्याट्रीहरू संकलन र पुनः प्रयोग बारे कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
लिथियम ब्याट्रीको आयु सामान्यतया ८ देखि १० वर्ष हुने भएकाले नेपालमा आगामी ४–५ वर्षपछि मात्र ठूलो मात्रामा ब्याट्री प्रतिस्थापनको अवस्था आउने उनले बताए । उनले नेपालका लागि अहिले पूर्व तयारी गर्ने उपयुक्त अवसर रहेका बताए ।
उनले ब्याट्री व्यवस्थापनका लागि नेपाल सरकारलाई ‘विस्तारित उत्पादक उत्तरदायित्व (ईपीआर) को नीति लागू गर्न सुझाव दिएका छन् ।
‘लिथियम ब्याट्रीको आयु सामान्यतया ८ देखि १० वर्ष हन्छ । नेपालमा आगामी ४ /५ वर्षपछि मात्र ठूलो मात्रामा ब्याट्री प्रतिस्थापनको अवस्था आउन सक्छ,’ उनले भने, ‘त्यसैले सरकारले अहिलेदेखि नै स्पष्ट नीति बनाउनु थाल्नुपर्छ । यो पूर्वतयारी गर्ने उपयुक्त अवसर हो ।’
उनले सवारी साधन वा ब्याट्री आयातकर्ता, बिक्रेता र डिलरलाई नै पुराना ब्याट्री संकलन गर्ने कानुनी जिम्मेवारी दिइनुपर्ने बताए । उनले ग्राहकले नयाँ ब्याट्री किन्दा पुरानो ब्याट्री बुझाउनुपर्ने बाध्यकारी व्यवस्था गर्न सुझाव दिएका छन् ।
‘सङ्कलित ब्याट्रीहरूलाई अनिवार्य रूपमा सूचीकृत रीसाइक्लिङ प्लान्टमा मात्र पठाउनुपर्छ। यदि नेपालमै रीसाइक्लिङ प्लान्ट स्थापना गर्न पर्याप्त ब्याट्री नभए भारत वा चीनका प्लान्टहरूसँग सहकार्य गरी निर्यात गर्ने बाटो खोल्नुपर्छ,’ उनले भने ।
उनले भारतमा ३० करोड सवारी मध्ये व्यावसायिक सवारी साधनका लागि वार्षिक ‘फिटनेस सर्टिफिकेट’ अनिवार्य गरिएको र ५०० भन्दा बढी अटोमेटेड टेस्टिङ सेन्टरमार्फत सवारी साधनको अवस्था जाँचिने बताए।
नेपालले पनि निश्चित मापदण्ड र परीक्षणका आधारमा मात्र पुराना सवारी साधनलाई ‘जीवनको अन्त्य घोषणा गर्ने र स्क्र्याप नीति लागू गर्ने संयन्त्र बनाउनुपर्ने उनको भनाइ थियो।
उनले नेपालमा इथानोल मिश्रण गर्दा सुरुमा थोरैबाट सुरु गर्न सुझाव दिए । भारतमा सन् २००६ मा ५ प्रतिशतबाट सुरु गरिएको इथानोल ब्लेन्डिङ सन् २०१० बाट १० प्रतिशत र हाल २० प्रतिशत ९ई २०० पुर्याइएको जानकारी दिए । तर, तीव्र रूपमा इथानोलको मात्रा बढाउँदा पुराना सवारी साधन र इन्धन आपूर्ति प्रणालीमा गम्भीर समस्याहरू देखिएको उनले औंल्याए ।
उनले पुराना गाडीका इन्जिन र रबर र इलास्टिकका पार्टपुर्जाहरू उच्च इथानोलयुक्त इन्धनका लागि उपयुक्त नहुने बताए । यसले इन्धन चुहावट हुने, गाडी स्टार्ट हुन गाह्रो हुने र माइलेज ५ देखि ६ प्रतिशतसम्म घट्ने समस्या आउने देखिएको उनको भनाइ छ ।
इथानोलले हावा र वातावरणबाट पानी सोस्ने भएकाले पेट्रोल पम्पका भूमिगत ट्याङ्कीमा पानी मिसिएमा ‘फेज सेपरेसन’ भई पेट्रोल र इथानोल छुट्टिने उनले बताए । इथानोल र पानीको गह्रौँ मिश्रण ट्याङ्कीको पीँधमा बस्ने भएकाले गाडीमा शुद्ध इन्धनको सट्टा गुणस्तरहीन मिश्रण पम्प हुने जोखिम रहने देखिएको उनले बताए ।
नेपालले पनि भविष्यमा इन्धनमा इथानोल मिसाउने वा जैविक इन्धनतर्फ जाने नीति बनाउँदा भारतीय अनुभवबाट पाठ सिक्दै प्राविधिक पूर्वाधार र सवारी साधनको अनुकूलतालाई ध्यानमा राखेर मात्र कदम चाल्नुपर्ने उनको सुझाव छ ।