नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

Aug 15, 2026 06:02 PM merolagani



अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन् ।

सरकारले लगानीको माहौल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरे।

“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्,” उनले भिडियो सन्देशमार्फत भने ।

सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ। बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए ।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ। बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उनले उल्लेख गरे ।

“पहिलो वर्ष सुधारको सुरुआत गर्‍यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,” अर्थमन्त्रीले भने।

यी सबै लक्ष्य प्राप्तिका लागि आन्तरिक स्रोत अत्यन्तै महत्त्वपूर्ण भएको, बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेको र यही बेला प्रवासीको ज्ञान र पुँजी सरकारलाई चाहिएको उनको भनाइ छ। प्रवासको पुँजी र लगानी परिचालनको विषयमा पार्टीको घोषणा पत्रमा पनि उल्लेख भएको र सरकारले पनि विशेष पहल गरिएको उनले बताए ।

सरकारले रुग्ण उद्योगहरूलाई पनि ब्युँताउँदै गरेको र यसलाई पुनर्ताजगी गरेर सञ्चालनका लागि राम्रो सीप र ज्ञान भएकालाई दिने भन्दै त्यसमा पनि प्रवासले सहभागिता जनाउन सक्ने अर्थमन्त्रीले बताए ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।