साउन २६ गतेदेखि सुरु भएको एक्स्पोको पाँचौँ दिनसम्म आइपुग्दा अवलोकनकर्ताको संख्या एक लाख ५० हजार नाघेको आयोजकले जनाएको छ ।
शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरेका थिए । नाइमा नेपाल मोबिलिटी एक्स्पोको छैटौँ तथा अन्तिम दिन आज हुँदैछ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा करिब डेढ लाख अवलोकनकर्ता आउने अनुमान गरेको थियो । तर, पाँचौँ दिनमै उक्त लक्ष्य पूरा भएको हो ।
एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकको तथ्यांक छ । पाँचौँ दिनको ४२ हजारभन्दा बढी सहभागितासँगै कुल अवलोकनकर्ता संख्या डेढ लाख नाघेको हो ।
अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा बढी अवलोकनकर्ता सहभागी हुनु एक्स्पोका लागि उत्साहजनक भएको बताए । उनका अनुसार एक्स्पोप्रति सर्वसाधारणको चासो र आकर्षण उल्लेख्य देखिएको छ ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् । विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्नुका साथै विशेष छुट तथा अफर ल्याएका छन् । विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधनका विभिन्न मोडल प्रदर्शनीमा राखिएकाले अवलोकनकर्ताको आकर्षण बढेको आयोजकको भनाइ छ ।
एक्स्पोमा सवारीसाधनसँगै विद्युतीय सवारीको ब्याट्री, मोटर, रेन्ज, चार्जिङ पूर्वाधार तथा बिक्रीपछिको सेवाबारे जानकारी लिनसमेत अवलोकनकर्ताको रुचि देखिएको छ । छैटौँ तथा अन्तिम दिन आज पनि एक्स्पोमा उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।