नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एण्ड अटोमोटिभ टेक्नोलोजीः ड्राइभिङ द फ्यूचर अफ मोबिलिटी’ संवादमा बोल्दै सिटौलाले एआईबारे आम मानिसमा विगतको तुलनामा धेरै जानकारी बढेको बताउँदै यस्तो बताएकी हुन् ।
उनका अनुसार अहिले एआईले कसरी काम गर्छ र यसबाट के गर्न सकिन्छ भन्ने विषय बुझाउन पहिलेको तुलनामा सहज भएको छ । यद्यपि एआईका सम्भावना र प्रयोगबारे अझै व्यापक रूपमा बुझाउन आवश्यक रहेको उनले बताइन् । ‘अहिले एआई सबैले बुझिसकेका छन्, एआईले कसरी काम गर्छ, के काम गर्छ भनेर बुझाउन सजिलो पनि भएको छ, जुन पहिले थिएन, तर यसको विषयमा अझै सम्झाउन–बुझाउन बाँकी छ,’ उनले भनिन् ।
सरकारी तहमा समेत एआईको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले नयाँ प्रविधिले काम गर्ने शैलीलाई सहज बनाएको बताइन् । एआईसम्बन्धी बहसमा रोजगारी गुम्ने विषयलाई मात्रै प्राथमिकता दिइएको भन्दै यसले सेवा तथा कामलाई कसरी सरल र प्रभावकारी बनाइरहेको छ भन्ने पक्षमा पनि छलफल आवश्यक रहेको उनको भनाइ छ । ‘एआईका बारेमा रोजगारी खोसिने तरिकाले मात्रै बहस भएको देखिन्छ,यसबाहेक पनि यसले कसरी सजिलो बनाएको छ भन्नेमा पनि बहस हुनुपर्छ,’ उनले भनिन् ।
यस्तै, सिटौलाले नेपालमा अनुसन्धानको वातावरण बनाउन दीर्घकालीन लगानी आवश्यक रहेको बताइन् । अनुसन्धानबाट तत्काल प्रतिफल नआउने भएकाले यसलाई छोटो अवधिको खर्चका रूपमा नभई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनको भनाइ छ । ‘आज रिसर्च गरेर रिजल्ट भोलि नै आउँछ भन्ने हुँदैन, हामीले लगानीको दृष्टिकोणबाट रिसर्चलाई हेर्नुपर्छ, ‘उनले भनिन्, ‘रिसर्च भनेको दीर्घकालीन लगानी हो र त्यसलाई त्यसरी नै हेर्नुपर्छ ।’