सहकारीहरूबाट मुद्दति निक्षेप धितो राखी ऋण लिएका तर हालसम्म चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई लक्षित गर्दै समितिले यो अवसर प्रदान गरेको हो। समितिको निर्णय अनुसार ऋणीहरूले आफूले लिएको ऋण रकमको हिसाब गर्दा आफ्नो मुद्दति निक्षेपमा रहेको बचत रकमभन्दा नबढ्ने गरी सोही बचतबाटै ऋणको हिसाब मिलान गर्न सक्नेछन्। यस व्यवस्थाले सहकारी संकटका कारण समस्यामा परेका बचतकर्ता तथा ऋणीहरूलाई आफ्नो दायित्व राफसाफ गर्न सहज हुनेछ।
यस सुविधाबाट लाभान्वित हुने सहकारीहरूमा सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्। यी पाँचवटै संस्थाका ऋणीहरूले आफ्नो मुद्दति निक्षेपको सीमाभित्र रहेर ऋण मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन्।