यस समूहका अधिकांश कम्पनीहरूको नाफा, जगेडा कोष र प्रतिशेयर आम्दानीमा ठूलो दबाब देखिएको छ भने केही सीमित कम्पनीहरूले मात्र आफ्नो वित्तीय अवस्थालाई मजबुत राख्न सफल भएका छन्।
खुद नाफामा २२ प्रतिशतभन्दा बढीको गिरावट
समीक्षा अवधिमा लगानी समूहका कम्पनीहरूको समग्र खुद नाफा २२.९६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा ६६ करोड ८५ लाख रुपैयाँ रहेको समूहको औसत खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा खुम्चिएर ५१ करोड ५१ लाख रुपैयाँमा झरेको छ। यसैगरी, समूहको औसत प्रतिशेयर आम्दानी पनि १९ रुपैयाँ ६९ पैसाबाट घटेर १२ रुपैयाँ ४६ पैसामा सीमित भएको छ।
सिइडिबी र इमर्जिङ नेपालको आकर्षक प्रगति
समग्र समूह कमजोर देखिए पनि सिइडिबी होल्डिङ्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडले भने निकै उत्कृष्ट प्रदर्शन गरेका छन्। सिडिएबी होल्डिङ्सले ६३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै आफ्नो प्रतिशेयर आम्दानी ६१ रुपैयाँ १२ पैसा पुर्याएको छ। त्यस्तै, गत वर्ष नोक्सानीमा रहेको इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाउन सफल हुँदा यसको प्रतिशेयर आम्दानी ६६२.५० प्रतिशतले वृद्धि भएर २ रुपैयाँ ७० पैसा पुगेको छ।
नागरिक लगानी कोषको ठूलो आकार तर जगेडा कोषमा दबाब
यस समूहमा सबैभन्दा ठूलो वित्तीय आकार र पुँजी भएको नागरिक लगानी कोषले समीक्षा अवधिमा १३५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ७.७२ प्रतिशतले बढी हो। नाफामा सामान्य वृद्धि भए पनि यसको जगेडा कोष ३६.७९ प्रतिशतले घटेर १ अर्ब २७ करोड रुपैयाँमा झरेको छ भने प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा रहेको छ।
ठूला पूर्वाधार र लगानी कम्पनीहरूको कार्यसम्पादन कमजोर
नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड जस्ता ठूला कम्पनीहरूको वित्तीय सूचकहरूमा गिरावट आएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा १३.८१ प्रतिशतले घटेर ९८ करोड ७४ लाख रुपैयाँमा झरेको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको नाफा ३०.२५ प्रतिशतले घटेर ६७ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। यी कम्पनीहरूको प्रतिशेयर आम्दानी पनि क्रमशः ४ रुपैयाँ ५७ पैसा र २ रुपैयाँ ७३ पैसामा खुम्चिएको छ।
एनआरएन र हाथवेको अवस्था अति कमजोर
चालु आर्थिक वर्षको चौथो त्रैमासमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको वित्तीय विवरण अत्यधिक कमजोर देखिएको छ। गत वर्ष ६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको यो कम्पनी चालु आवमा ७ करोड ७६ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ। यसका कारण एनआरएनको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसाले ऋणात्मक बन्न पुगेको छ। त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको खुद नाफा ७०.८७ प्रतिशतले घटेर १ करोड ८९ लाख रुपैयाँमा झरेको छ भने प्रतिशेयर आम्दानी मात्र ६० पैसा रहेको छ।