शेयर बजार सुधार गर्न माल्दिभ्सले लागू गरेको ५ वर्षे दीर्घकालिन रणनीतिः नेपालले सिक्न सक्ने पक्षहरु

Aug 20, 2026 10:54 AM Merolagani



शेयर कारोबार हुने कम्पनीको संख्या:  जम्मा १० वटा

शेयर  कारोबार हुने दिनः साताको ५ दिन

शेयर  कारोबार हुने समयः स्थानीय समयअनुसार विहान साढे ८ देखि ११ बजेसम्म जम्मा साढे दुई घण्टा

यति कुरा हेर्दा त्यस्तो पनि के पूँजी बजार हो र ? भन्ने लाग्न सक्छ । तर, यही वास्तविकताकोबीचमा पूँजी बजारको विकास र विस्तारमा माल्दिभ्सले अहिले जे गरिरहेको छ, त्यो नेपालका लगानीकर्ता र खासगरि नेपाल धितो पत्र बोर्ड र स्टक एक्सचेन्जसहितका सरोकारवाला सरकारी अधिकारीहरुको लागि एउटा गतिलो पाठ बन्न सक्छ ।

करिब ५ लाख जनसंख्या रहेको माल्दिभ्समा शेयर कारोवार गर्ने नागरिकको संख्या ४३ हजार भन्दा धेरै पुगेको छ ।

माल्दिभ्स स्टक एक्सचेन्ज  आकार र सूचीकृत कम्पनीका हिसाबले दक्षिण एसियाकै सबैभन्दा सानो बजार हो । तर  माल्दिभ्सले अपनाएका संरचनागत सुधारहरू नेपालको सेयर बजार (NEPSE) का लागि एउटा महत्वपूर्ण पाठ बन्न सक्छन्।

सन् २००१ मा 'Securities Trading Floor' (STF) को रूपमा सुरु भई सन् २००८ देखि 'Maldives Stock Exchange' (MSE) को रूपमा सञ्चालित माल्दिभ्सको स्टक एक्सचेन्जमा दुईवटा बोर्ड रहेका छन्:

Main Board (मुख्य बोर्ड): यसमा १० वटा ठूला तथा मुख्य कम्पनीहरू सूचीकृत छन्। जसमा बैंक अफ माल्दिभ्स (BML), ओरेडु माल्दिभ्स (Ooredoo Maldives), धिरागु (Dhiraagu Telecommunications), स्टेट ट्रेडिङ अर्गनाइजेसन (STO), र माल्दिभ्स ट्रान्सपोर्ट एन्ड कन्ट्रक्सन कम्पनी (MTCC) प्रमुख हुन्।

Viyana Board (साना र कर्पोरेट ऋणपत्र बोर्ड): यो बजारमा निजी कम्पनीहरूले कर्पोरेट बण्ड, सुकुक (Islamic Sukuk) र अल्पकालीन वित्तीय उपकरणहरू निष्कासन गरी पुँजी सङ्कलन गर्छन्। हेल्थकेयर (ADK Hospital), एजुकेसन (IUM Holdings), वाटर एन्ड सिभरेज (MWSC) जस्ता क्षेत्रले यही बोर्डमार्फत नयाँ बण्ड र सुकुकहरू जारी गरिरहेका छन्।

हालैका नीतिगत तथा प्रविधिकगत सुधारहरू

MSE र माल्दिभ्स सेक्युरिटिज डिपोजिटरी (MSD) ले बजारको तरलता बढाउन, सेन्ट्रल डिपोजिटरी (CSD) प्रणालीलाई आधुनिक बनाउन र बजार विस्तार गर्नका लागि ५ वर्षे दीर्घकालीन रणनीति (Strategic Plan 2026–2030) कार्यान्वयनमा ल्याएका छन्।

यस अन्तरगत लगानीकर्ताहरूले माल्दिभ्सको राष्ट्रिय डिजिटल प्रणाली (eFaas) मार्फत सजिलै 'Infinity' नामक अनलाइन सेयर प्लेटफर्ममा लगइन गरी सेयर कारोबार तथा IPO आवेदन दिन सक्ने व्यवस्था लागू गरिएको छ।

त्यस्तै मुख्य बोर्डमा सूचीकृत कम्पनी, बैंक र वित्तीय संस्थाहरूका लागि दिगोपना र जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानकहरू (IFRS S1 र IFRS S2) पालना गर्नु अनिवार्य गर्ने प्रक्रिया सुरु गरेको छ।

यसबाट सन् २०२६ को सुरुवातसम्म बजार पुँजीकरण MVR ३३ अर्ब (करिब २.१ अर्ब अमेरिकी डलर) रहेकोमा, मार्च २०२६ मा बजारको ठूलो संस्था Bank of Maldives (BML) ले बोनस शेयर र १:११ को 'Share Split' गरेपछि बजार पुँजीकरण दोब्बर भई ऐतिहासिक MVR ६२ अर्ब (करिब ४ अर्ब अमेरिकी डलर) पुगेको छ।

मुख्य सूचक MASIX ४९५ अङ्कको आसपासमा छ। मुख्य बोर्डमा १० वटा मात्र कम्पनीहरू (BML, Dhiraagu, Ooredoo, STO, MTCC आदि) सूचीकृत छन्। दैनिक कारोबार भने ३,००० देखि १३०,००० डलरसम्म हुने गर्छ।

बजार संरचना: साना तथा मझौला उद्योग र कर्पोरेट ऋणपत्रका लागि 'Viyana Board' सञ्चालनमा छ, जहाँ अस्पताल, शिक्षा र खानेपानी क्षेत्रले इस्लामी सुकुक (Islamic Sukuk) र बण्डमार्फत पुँजी जुटाइरहेका छन्।

इन्धन, खाद्य र यातायात नियन्त्रण गर्ने STO र MTCC जस्ता राज्य-नियन्त्रित निकायको शेयर सर्वसाधारणमा जारी गरियो, जसले उच्च नगद लाभांश दिएर विश्वास जित्यो।

९८% साक्षरता र करिब १२,००० डलर भन्दा बढी प्रतिव्यक्ति आय भएको मध्यम वर्गले बैंक निक्षेपभन्दा उच्च 'Dividend Yield' दिने शेयरलाई रोज्यो।

मुस्लिम बाहुल्य देश भएकाले Amana Takaful र Islamic Sukuk जस्ता इस्लामी वित्तीय उपकरण ल्याएर धार्मिक कारणले टाढा रहेका नागरिकलाई समेटियो।

नेपालका लागि पाठ                                           

नेपाल र माल्दिभ्स दुवै दक्षिण एसियाली मुलुक भए पनि भौगोलिक बनावट,जनसंख्या र पुँजी बजारको विकासक्रममा ठूलो भिन्नता छ। नेपालमा प्राथमिक बजार (IPO) मा देखिएको व्यापक आकर्षण र डिम्याट (Demat) खाताको लहरले पुँजी बजारलाई तल्लो तहसम्म पुर्‍याएको छ भने माल्दिभ्सले डिजिटल पूर्वाधार र नाफामूलक सरकारी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागितामार्फत लगानीकर्ताको दायरा विस्तार गरेको छ।

माल्दिभ्सको बजारमा दैनिक शेयर किनबेच  अझै पनि कम छ र कुल पुँजीको ठूलो हिस्सा संस्थापकहरूकै हातमा छ। तर, ५ लाखको जनसंख्यामा ४३,००० भन्दा बढी दर्ता भएका लगानीकर्ता हुनुले के पुष्टि गर्छ भने—बजारको आकार सानो भए पनि यदि प्रविधि चुस्त छ, लाभांश सुरक्षित छ र प्राथमिक शेयर (IPO) सम्म सर्वसाधारणको सहज पहुँच छ भने साना देशमा पनि शेयर संस्कृति छिटो फस्टाउन सक्छ।

माल्दिभ्सको यो मोडलबाट डिजिटल एकीकरण र लाभांशमुखी कम्पनीहरूलाई बजारमा ल्याएर कसरी साना लगानीकर्ताको दायरा फराकिलो बनाउन सकिन्छ भन्ने कुरा अन्य उदीयमान बजारहरूका लागि पनि अनुकरणीय देखिन्छ।

 




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।