लिलामीमा फेरारीको कीर्तिमान: पहिलो विद्युतीय कार ४ करोड डलरमा बिक्री

Aug 17, 2026 04:33 PM Merolagani



फेरारीको पहिलो विद्युतीय कार (EV) ले एक परोपकारी लिलामीमा ४ करोड डलर (करिब ५ अर्ब ३४ करोड नेपाली रुपैयाँ) आर्जन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यो लिलामीमा बिक्री भएको विश्वकै सबैभन्दा महँगो नयाँ कार बनेको छ।

क्यालिफोर्नियाको 'आरएम सोथेबी' मा आयोजित कार्यक्रममा चर्चित आईफोन डिजाइनर सर जोनी आइभले डिजाइन गरेको 'फेरारी लुस' (Ferrari Luce) लिलामीमा राखिएको थियो। यो कार यसको सामान्य बजार मूल्यभन्दा ३५ गुणा बढी मूल्यमा बिक्री भएको हो।

आलोचना र ब्रान्ड पहिचानको बहस


गत मे महिनामा सार्वजनिक हुँदा लुसले निकै आलोचना खेप्नुपरेको थियो। अटो क्षेत्रका जानकारहरूले यो कार फेरारीको परम्परागत डिजाइनभन्दा निकै भिन्न रहेको टिप्पणी गरेका थिए। ब्याट्रीबाट चल्ने र पाँच सिट क्षमताको भएका कारण यसले फेरारीको मौलिक पहिचान गुमाएको कतिपयको तर्क थियो।

सोथेबीका अनुसार यो लिलामीबाट प्राप्त सबै रकम 'फेरारी फाउन्डेसन' को शैक्षिक कार्यक्रमहरूमा खर्च गरिनेछ। अद्वितीय फिनिसिङ र विशेष पार्टपुर्जाहरू जडान गरिएको यस 'कस्टम लुस' खरिदकर्ताको नाम भने गोप्य राखिएको छ।

विद्युतीय सवारी बजारमा फेरारीको 'डेब्यु'
लुसको अनावरणलाई हालैका वर्षहरूमा अटोमोबाइल क्षेत्रकै सबैभन्दा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। टेस्ला र चिनियाँ कार निर्माताहरूको वर्चस्व रहेको विद्युतीय सवारी साधनको बजारमा फेरारीको यो पहिलो प्रवेश हो। यस लक्जरी ब्रान्डको नयाँ गाडी हेर्न इटालीका राष्ट्रपति सर्जियो मटारेला र पोप लियोलाई समेत आमन्त्रित गरिएको थियो।

कारमा विशेष पाङ्ग्रा, अनुकूलित ब्रेक र पूर्ण सेतो छालाको सिटहरू सहितको 'ह्वाइट फिनिस' दिइएको छ।

विवाद र बजार माग
लुस सार्वजनिक भएको भोलिपल्टै कारको कडा विरोध भएपछि फेरारीको सेयर मूल्यमा गिरावट आएको थियो। इटालीका उपप्रधानमन्त्री माटेओ साल्भिनी र फेरारीका पूर्व अध्यक्ष लुका कोर्डेरो डि मोन्टेजेमोलोले यो कारले फेरारीको ऐतिहासिक विरासतलाई जोखिममा पारेको बताएका थिए।

यद्यपि, फेरारीका प्रमुख डिजाइन अधिकृत फ्लाभियो मान्जोनीले नवप्रवर्तनको प्रक्रियामा आलोचना हुनु स्वाभाविक भएको र भविष्यमा मानिसहरूले लुसको प्रशंसा गर्ने विश्वास व्यक्त गरे। कम्पनीले बिक्री लक्ष्य सार्वजनिक नगरे पनि 'फाइनान्सियल टाइम्स' का अनुसार चीनबाट आएको उच्च मागका कारण कारले यो वर्षको लक्ष्य पूरा गरिसकेको छ।

लिलामीको इतिहास र रेकर्ड
कार लिलामीको इतिहासमा फेरारीले सधैं उच्च मूल्य पाउने गरेको छ। यसअघि २०२५ मा एक विशेष फेरारी 'डेटोना SP3' सुपरकार २ करोड ६० लाख डलरमा बिक्री भएको थियो।

यद्यपि, लिलामीमा बेचिएको अहिलेसम्मकै सबैभन्दा महँगो कारको रेकर्ड भने १९५५ को 'मर्सिडीज–बेन्ज ३०० SLR उहलेनहाउट कुपे' को नाममा छ, जुन २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।