राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै जथाभावी हेलिकप्टर उडाउँदा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुनसक्ने भन्दै उद्धार कार्यलाई व्यवस्थित बनाउन निर्देशन दिएको हो।
निर्देशनअनुसार हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी मात्रै उडान सञ्चालन गर्नुपर्नेछ। नेपाली सेनाको हेलिकप्टर आवश्यक परे सम्बन्धित जिल्लामा रहेका सेनाका टोलीसँग समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, निजी हेलिकप्टर आवश्यक परे प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल उद्धारको व्यवस्था मिलाउन भनिएको छ।
प्राधिकरणले निजी हेलिकप्टर व्यवस्थापनका लागि हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।
बाढी प्रभावित क्षेत्रमा जथाभावी हेलिकप्टर उडान गर्दा हुनसक्ने सम्भावित दुर्घटना तथा प्राविधिक जोखिमलाई मध्यनजर गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो।